काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
उनसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, नेताहरू ओनसरी घर्ती, गणेशमान पुन, दलजित सिर्पालीलगायत उपस्थित थिए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
उनीसँगै आमा ६१ वर्षीय गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर सिर्पालीको निधन भएको थियो ।