राष्ट्रपति गरे इन्द्रजात्राको अवलोकन-Sutra News

राष्ट्रपति गरे इन्द्रजात्राको अवलोकन

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आयोजित जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि गद्दी बैठकसम्म हिँडेर गएका थिए । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्री गणेश, श्री भैरव र श्री कुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।
इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल पुगेका थिए ।
यस्तै, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।
भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।
असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्ने छन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।
असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट