थामिन खोज्यो नेप्सेको पहिरो-Sutra News

थामिन खोज्यो नेप्सेको पहिरो

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । बुधबार ४ अंकले घट्दै नेप्से २५७६.७६ को बिन्दुमा अडिएको छ ।



यस दिन नेप्सेमा झिनो अंकको गिरावट आएपनि कारोबार रकम भने निकै घटेको छ । बुधबार १ करोड ३९ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँको भयो । जुन दुई महिना यताकै कम कारोबार रकम हो ।

यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये ७४ कम्पनीको मूल्य बढ्यो भने १६३ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज बैंक र निर्जिबन बिमा बाहेकका सबैजसो समूहको सूचकमा गिरावट आयो । बैंक ०.७६ प्रतिशतले बढ्दा निर्जिबन बिमा ०.१६ प्रतिशतले बढ्यो । आज सबैभन्दा बढी फाइनान्सको सूचक २.६८ प्रतिशत र माइक्रोफाइनान्सको सूचक १.०७ प्रतिशतले घटेको छ । अन्यमा १ प्रतिशतभन्दा मुनिको गिरावट आएको छ ।

आज कारोबार रकमका आधारमा सिइडिइ हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस उर्जालगायतको कारोबार उच्च रह्यो । सिइडिइ हाइड्रोपावरमात्रै कारोबार रकम २० करोड ५८ लाख रुपैयाँको भयो ।

लगातार गिरावटका बिच नेप्सेमा कारोबार रकम निकै घटेको छ । विशेषगरी गिरावटका बिच धेरै लगानीकर्ता होल्डमा रहनु र नयाँ लगानीकर्ता प्रवेश गर्न नखोजेको देखिन्छ । अर्कोतर्फ चाडपर्वको प्रभाव पनि बजारमा परेको बजार विश्लेषकहरु बताउँछन् ।

बुधबारसम्मको कारोबारलाई हेर्दा, बजारमा चाडपर्वको पूर्ण प्रभाव परेको देखिन्छ । यद्यपि, मनोविज्ञान स्थिर बन्दै गरेको पनि जनाउ सूचकले देखाएको छ । लगातार उच्च अंकको गिरावटका बिच बुधबार झिनो अंकको मात्रै गिरावट हुनुले मनोविज्ञान स्थिर बन्दै गएकोमा दुविधा छैन ।

विश्लेषकहरु पछिल्लो ट्रेण्ड चाडपर्वसम्म नै कायम रहन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट