नेप्सेको गिरावट नियोजित कि स्वाभाविक ?-Sutra News

नेप्सेको गिरावट नियोजित कि स्वाभाविक ?

अर्थमन्त्री नै उत्तर खाेज्दै, भन्छन्– ब्याजदर घट्दासमेत किन कारोबार रकम बढेन ? टिएमएस प्रणालीमा किन समस्या आइरह्यो ?

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौं । पछिल्लो एक महिनादेखि नेप्से करिब ओरालो यात्रामा छ । भदौ ३१ मा ३ हजारको बिन्दुमा पुगेको नेप्से त्यसयता लगातार नै ओरालोमै रह्यो । एक महिनाको बिचमा भएका २० कारोबारमध्ये ६ दिनबाहेक सबैमा गिरावट आयो ।



२० कारोबार दिनकै बिचमा नेप्सेमा ४ सयभन्दा बढी अंकको गिरावट आएको छ । बुधवारसम्म आउँदा नेप्से २५७६.७६ को बिन्दुमा झरेको छ ।

सँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । भदौ ३१ मा २९ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको नेप्सेमा बुधवारसम्म आउँदा ५ अर्ब ५४ करोडमै कारोबार सीमित बन्यो ।

निरन्तरको ओरालो यात्रा चलिरहँदा बजारमा लगानीकर्ता र विश्लेषकहरूले प्रश्न उठाउन थालेका छन् । कतिपयले गिरावटलाई नियोजित भएको आरोपसमेत लगाएका छन् ।

एकातिर केही समूहलाई लिएर प्रश्न उठाइएको छ भने अर्कोतिर स्वयम् स्टक एक्सचेन्जमाथि पनि प्रश्न गरिएको छ । विशेषगरी नेप्सेमार्फत सिस्टमबाटै गडबडी गरिएको आशंका लगानीकर्ताहरूको छ ।

“बजारमा करेक्सन आउँछ, करेक्सनको पनि एउटा लय हुन्छ तर, जसरी अहिले नेप्से घट्यो यसमा प्रश्न उठेको छ”, लगानीकर्ता तथा बजार विश्लेषक जगतजङ्ग जिसी भन्छन्, “किन डिमान्ड प्रेसर बढी हुँदा पनि बजार घट्छ, किन बेला–बेला डिमान्ड गर्न दिइँदैन, किन बेला–बेला सिस्टम डाउन भइरहन्छ ? बजारमा नियोजित चलखेल भएकोमा दुबिधा छैन ।”

विशेषगरी विभिन्न आर्मीका नाममा चलाइएका समूहमाथिको बेवास्ता र वाइकोको सिस्टममाथि भइरहेको गडबडीलाई धितोपत्रले ध्यान नदिनुमा प्रश्न उठेको जिसीको भनाई छ । हुन पनि नेप्सेको ट्रेडिङ्ग सिस्टममा निरन्तरजसो नै समस्या आइरहेको छ । पछिल्लो पटक सोमबारको कारोबारमा झन्डै २५ मिनेट सिस्टम चलेको थिएन । यद्यपि, जसबारे कुनै सुनुवाइ भएको छैन ।

सँगै कतिपय लगानीकर्ताले सार्वजनिकरुपमा नेप्से २ हजारकै आसपासमा आउँदै गरेको भन्दै मनोविज्ञान बिगारिरहेका छन् । जिसी यसरी मनोविज्ञानमाथि खेल्न पाउने वा नपाउने भन्ने प्रश्न गर्छन् ?

नेप्सेबारे निरन्तर प्रश्न उठ्न थालेपछि अर्थमन्त्री विष्णु पौडेल सक्रिय बनेका छन् । उनले विज्ञहरूसँगै सरोकारवालासँग छलफललाई बढाएका छन् ।

बुधवार अर्थमन्त्री पौडेलले नेप्सेका कर्मचारीसँग छलफल गरेका थिए । विशेषगरी वाइकोको सिस्टमलाई लिएर प्रश्न उठिरहेका बेला उनले छलफल गरेका हुन् । पौडेल स्वयमले बिना कारण भएको गिरावटले गम्भीर प्रश्न उठाएका छन् ।

“कुनै समय १२ बजेसम्म टिएमएस प्रणाली काम गरेन, त्यो किन भयो ? यो समस्या किन आइरहेको छ, जवाफ खोज्नु परेको छ”, बुधवार स्टक एक्सचेन्ज पुगेका पौडेलले भने, “ब्याजदर निरन्तर ओरालो लागिरहेको छ, तर ब्याजदर घट्दासमेत किन कारोबार रकम बढेको छैन ?”

स्वयम् अर्थमन्त्रीले पर्दाभित्र चलखेल भइरहेको त होइन भन्ने आशंका गरेका छन् । “पर्दाभित्र जे भइरहेको छ, त्यो अघि आउनुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ”, पौडेलले भनेका छन्, “म सुधारका लागि सुधारका लागि सही तरिकाले अघि बढ्न तयार छु ।”

अर्थमन्त्री पौडेलले आशंका जनाएजस्तै नेप्सेमा घट्नुमा विशेष कारण देखिन्न । जे कारणले बढेको थियो, सो कारणमा परिवर्तन भएको छैन । बरु, लगानीकर्तालाई सहयोग पुग्ने गरी परिवेश तयार भइरहेको छ । योबिचमा नीति मात्रै होइन, सरकारको व्यवहार र ब्याजदर पनि अनुकूलित छ । यद्यपि, बजार बढ्न नसक्नुमा केही लगानीकर्ता र केही समूहको चलखेल त होइन भन्ने प्रश्नलाई अन्यथा मान्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट