देउवा र थापाको एउटै स्वर- सहकारी ठगीमा रवि लामिछाने दोषी देखिए-Sutra News

देउवा र थापाको एउटै स्वर- सहकारी ठगीमा रवि लामिछाने दोषी देखिए

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस सभापति र महामन्त्रीले एउटै मञ्चबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा दोषी देखिएको बताएका छन् ।



पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियान उद्घाटनमा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले लामिछाने दोषी भएको प्रतिवेदनले देखाएको दाबी गरेका हुन् ।

कांग्रेस सभापति देउवाले रविले गरेको ठगीबारे महामन्त्री थापाले विषय उठाउँदा विश्वास नलागेको बताउँदै अहिले पुष्टि भएको बताए । यस क्रममा उनले महामन्त्री थापालाई धन्यवाद दिएका थिए ।

‘रवि लामिछाने चलाख मान्छे रहेछन्, मलाई त छक्कै पार्दिए, सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगन कुमार थापाले धेरै अध्ययन गरेर भन्नु भएको छ,’ सभापति देउवाले भने, ‘उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ ।’

उनले सहकारी प्रकरणको मुद्दामा महामन्त्री थापाले जितेको बताउँदै आगामी दिनमा पार्टी संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

यता, महामन्त्री थापाले सहकारी ठगीमा छानबिन समितिले रास्वपा सभापति लामिछानेलाई ‘क्लीन चिट’ नदिएको बताए । सहकारीमा संलग्न नभई उनले ठगी गरेको थापाको दाबी थियो ।

‘यो हामीले बनाएको कानून हो, कानूनले सहकारी बाहिर बसेर पैसा लिएकोलाई पनि ठगी मान्छ, रवि जी सहकारीको सदस्य हुनु हुन्थेन, उहाँले बाहिरै बसेर ठग्नु भएको हो,’ उनले भने ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहित दोषीलाई कारबाही गर्न छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । तर, लामिछानेसहित रास्वपाका नेताहरूले आफ्नो पार्टी सभापतिलाई क्लीन चिट दिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट