एमालेको अधिवेशनमा गुट बनाउन नपाइने, गुट बनाए कारबाही हुने-Sutra News

एमालेको अधिवेशनमा गुट बनाउन नपाइने, गुट बनाए कारबाही हुने

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टीको अधिवेशनको निर्वाचनमा गुट बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजना’मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले गुट बनाउन नपाइने उल्लेख गरिएको छ ।



‘प्रत्येक उम्मेदवारले आफूलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने, कसैले पनि प्यानल बनाएर प्रचार-प्रसार नगर्ने,’ कार्य योजनामा उल्लेख छ । कार्य योजनामा आगामी ११ औँ महाधिवेशनसम्म १० लाख सदस्यता बनाउने लक्ष्य बनाएको छ ।

१० लाख सदस्यता बनाउन पार्टीले जनसंगठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिलाई आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । पार्टीले आगामी वर्षदेखि अभिलेखीकरणको काम संगठन विभागको निर्देशनअनुरूप ‘अनलाइन’मार्फत गर्ने भएको छ ।

कार्य योजनामा पार्टी प्रवेशबाट आएका र नयाँ सदस्यता प्राप्त सबै पार्टी सदस्यका लागि अनिवार्य आधारभूत तहको प्रशिक्षणको व्यवस्था मिलाउने र जिल्ला कमिटीले सदस्यहरुको मागका आधारमा तोकिएको ढाँचामा पार्टी सदस्यता ‘कार्ड’ मुद्रण गरी वितरण गर्ने ‘सर्कुलर’मा राखिएको छ ।

पार्टीको विधानले तोकेको अवधिभित्र अधिवेशन सम्पन्न नभएका कमिटी स्वतः संगठन कमिटीमा रूपान्तरण हुने व्यवस्था गरिएको छ । अन्य पार्टीबाट एमाले प्रवेश गरेकालाई पार्टी जिम्मेवारी प्रदान गर्नुपूर्व आधारभूत तहको प्रशिक्षण अनिवार्य गर्ने र नयाँ पार्टी सदस्यलाई पार्टी सदस्यको शपथग्रहण समारोहपूर्व आधारभूत प्रशिक्षण प्रदान गर्ने योजना कार्ययोजनामा राखिएको छ ।

कार्य योजनामा पार्टीको आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उम्मेदवार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट