ओलीले किन देखे बालेनबाट व्यवस्थामाथि जोखिम ?-Sutra News

ओलीले किन देखे बालेनबाट व्यवस्थामाथि जोखिम ?

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बिच लामो समयदेखि नै विवादको अवस्था छ । विशेषगरी गिरीबन्धु टी स्टेटको प्रकरणदेखि ओली र बालेन आमनेसामने छन् ।



पछिल्लो समय दुईबिच थप टकराव बढ्दाे देखिन्छ । काठमाडौं महानगरभित्र बालेनलाई अप्ठ्यारो पार्ने रणनीतिमा ओली देखिँदा, बालेनले पनि आफ्नो शक्ति लगाएर ओलीविरुद्ध अभियान चलाइरहेका छन् । जसको उदाहरण सामाजिक सञ्जालमा एक–अर्काविरुद्ध चलाइएको ‘अनफलो’ अभियान पनि हो ।

एकअर्कोविरुद्ध अभियान चलिरहेकै बिच प्रधानमन्त्री ओलीले ‘बालेन प्रवृत्ति’लाई व्यवस्थामाथिकै खतराको रूपमा अर्थ्याएका छन् । संविधान दिवसको दिन प्रधानमन्त्री ओलीले दिएको लिखित भाषणमा उनले ‘आगो लगाउँछु’ भन्नेबाट व्यवस्थालाई जोगाउन आवश्यक रहेको बताएका हुन् ।

गत वर्षको भदौमा मेयर साहले केन्द्रीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउँछु भन्ने अभिव्यक्ति दिएका थिए । पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको आक्रोशमा उनले सामाजिक सञ्जालमार्फत यस्तो भनेका थिए ।

“आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार”, उनले भनेका थिए ।

मेयर साहको यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको थियो । जसपश्चात् उनी आफैँले ‘आगो लगाउँछु’ भन्ने स्ट्याटस हटाएका थिए ।

प्रधानमन्त्री ओलीले सोही कुरातर्फ लक्षित गर्दै साहलाई व्यवस्थाको जोखिमको रूपमा अर्थ्याएका छन् ।

“आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईँहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला, तपाईँहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला”, ओलीले भनेका छन्, “समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ। सुशासन कायम त हामी गर्छौं, गर्छौं। तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँ पुस्ता पछि पर्नेछौँ।

व्यवस्थाका सुन्दर फूल कि खतरा ?

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सन्दर्भमा काठमाडौं महानगरका मेयर साह र धरान उपमहानगरकाका मेयर हर्क साम्पाङ्गलाई व्यवस्थाका सुन्दर फूलहरू भनी अर्थ्याएका थिए । “संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुइटा नयाँ फूलहरू फर्किएका छन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो”, प्रचण्डले भनेका थिए ।

प्रचण्डले व्यवस्थाको सुन्दर पक्ष र व्यवस्थाको भविष्यको रूपमा बालेन र हर्कहरूलाई अर्थ्याइरहँदा प्रधानमन्त्री ओलीले भने व्यवस्थाको खतराको रूपमा अर्थ्याएका छन् । प्रधानमन्त्रीकै पदमै रहँदा ओलीको पछिल्लो अर्थ्याइसँगै धेरै प्रश्नहरू खडा भएका छन् ।

वामपन्थी विश्लेषक लोककृष्ण भट्टराई ओलीको टिप्पणी अर्थहीन भएको बताउँछन् । यस्तो स्तरकाे टिप्पणीमा व्यक्तिगत आरोप–प्रत्यारोपकाे बुझाई हाबी भएको भट्टराईकाे विश्लेषण छ ।

“लोकतान्त्रिक व्यवस्थाभित्र स्वतन्त्रहरू आउँछन्, यो राम्रै पक्ष हो, यद्यपि समग्रतामा दलीय व्यवस्था नै प्रमुख हो”, भट्टराईले भनेका छन्, “ओलीले यस्ता स्वतन्त्र उम्मेदवारलाई व्यवस्थाको जोखिमको रूपमा अर्थ्याउनु अपरिपक्व बुझाइ हाबी भएको देख्छु, कता–कता व्यक्तिगत सम्बन्धका आधारमा बुझाई तय भए जस्तो देख्छु ।”

भट्टराईका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कुनै अमुक पात्रबाट भन्दा पनि यही व्यवस्थाका भ्रष्ट पात्रहरूबाट जोखिम छ । भ्रष्ट पात्रहरूबाट व्यवस्थालाई जोगाउनु नै अहिलेको आवश्यकता हो ।

“यो व्यवस्थामाथि प्रश्न उठ्नुको पछाडि यसले सही डेलिभरी दिन नसकेको कारण हो, यद्यपि यसको विकल्प पछाडि फर्कनु होइन”, उनी भन्छन्, “यसको जोखिम यही व्यवस्थाभित्रका खराब पात्र र प्रवृत्तिबाट छ, कुनै अमुक पात्रहरूबाट होइन, भ्रष्टहरूबाट यसलाई जोगाउनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट