गुल्सनले बनाए विश्व कीर्तिमान-Sutra News

गुल्सनले बनाए विश्व कीर्तिमान

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली जारी आईसीसी विश्वकप लिग २ मा सहभागी हुन क्यानडामा छ । नेपालले लगातार दुई खेलमा पराजित भएको छ ।



पहिलो खेलमा आयोजक क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमनसँग एक विकेटले पराजित बन्न पुग्यो । नेपालको दोस्रो खेलमा अलराउण्डर गुल्सन झाको प्रदर्शनको भने चर्चा भइरहेको छ ।

नेपालका युवा अलराउण्डर गुल्सनले विश्वका दुई लेजेण्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीले बनाएको रेकर्डलाई पछि पारेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भए ।

ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यति ठूलो सफलता पाएका हुन् । उनले १८ वर्ष २१४ दिनमा कीर्तिमानी सफलता पाएका हुन् ।

यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध कम उमेरमा अर्धशतक बनाएका थिए । पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मै इंग्ल्याण्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए ।

यता, वेष्ट इण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा पाँच विकेट लिँदै ५० भन्दामाथि रन बनाएका थिए ।

गुल्सन लिग २ मा एकै खेलमा पाँच विकेट लिएर ५० भन्दा माथि रन बनाउने कम उमेरका खेलाडी बने । उनी ओडीआई इतिहासमा एकै खेलमा पाँच विकेट लिएर ५० माथि रन बनाउने विश्वकै २४ औँ खेलाडी हुन् ।

ओडीआईमा सबैभन्दा पहिला सन् १९८७ मा वेष्ट इण्डिजका भिभियन रिचर्ड्सले एकै खेलमा पाँच विकेट लिएर ११९ रन बनाएका थिए । उनले न्युजिल्याण्डविरुद्ध यो सफलता पाएका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । खेलमा गुल्सनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाएका थिए । यस्तै, उनले पाँच विकेट लिएका थिए । जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच अवार्ड’ दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट