दुई वटा गीतबाटै चर्चाको शिखरमा ‘छक्का पन्जा ५’-Sutra News

दुई वटा गीतबाटै चर्चाको शिखरमा ‘छक्का पन्जा ५’

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौं । फिल्म ‘छक्का पन्जा’को पाचौं सिरिज ‘छक्का पन्जा ५’ यति बेला प्रदर्शनको तयारीमा छ । बडा दसैँको फूलपातीलाई लक्षित गरेर बनाइएको फिल्मको टिम यतिखेर फिल्म प्रदर्शनको तयारीमा जोडतोडले जुटिरहेको छ ।



यसअघिका सिरिजमा जस्तै यसपटक पनि प्रदर्शन पूर्व नै फिल्मको चर्चा चुलिन थालेको छ । हालसम्म फिल्मका दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । यद्यपि, दुवै गीतले फिल्मलाई चर्चाको शिखरमा पुर्‍याएका छन् ।

साउन २८ मा ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको थियो । तिजको आसपासमा सार्वजनिक यो गीत, चर्चाको शिखरमा मात्रै रहेन, आलोचनाको केन्द्रमा पनि रह्यो ।

जसलाई लिएर सामाजिक सञ्जालमा मात्रै होइन, सञ्चार माध्यममा पनि थुप्रै टिप्पणीहरू भए । जसमाथि छाडा संस्कृतिलाई बढवा दिएको आरोप पनि लाग्यो ।

हुन पनि गीतको कथावस्तुमा अविवाहित तर, कुमार नभएको बताइएको छ । जसले पछिल्लो पुस्ताको गलत प्रवृत्तिलाई त चित्रण गर्न खोजेको छ, यद्यपि छाडा प्रवृत्तिलाई बढवा दिएको आभास हुन्छ ।

जुन गीतको चर्चा नसेलाउँदै ‘छक्का पन्जा ५’को ‘ब्रेकअप’ बोलको गीत यति बेला सार्वजनिक भएको छ । बुधवार सार्वजनिक ‘ब्रेकअप’ गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

युट्युबमा एकै दिन ६ लाख बढीले हेरेको यो गीतका अंशहरू फेसबुक, टिकटकलगायतमा प्लेटफर्ममा पनि उत्तिकै हेरिएका छन् ।

एउटासँग प्रेम र अर्कोसँग लगनगाँठो गरिएको कथामा बुनिएको गीतका टुक्का निकै भाइरल छन् । गीतमा बाध्यकारी ब्रेकअप हुँदाको पीडा पोखिएको छ ।

गीतमा सन्देशका कुराभन्दा रमाइलो शैलीका शब्दहरू चयन गरिएका छन् । यद्यपि, कतिपयले ‘गाली गलौजको गुच्छा’ मात्रै भनी टिप्पणी गरे पनि गीतलाई रमाइलोको रूपमा धेरैले रुचाएका छन् ।

गीतका शब्दहरू स्वीकार्य खालका छैनन् यद्यपि, जसको भाव निकै अर्थपूर्ण छ । “पिठ्यूँ देखाई हिँड्ने तेरो ढाडै सड्किजाओस्, मलाई छोडी अन्तै हेर्ने तेरो आँखै फड्की जाओस्”, जुन पीडामा परेको प्रेमीले पोखेको आक्रोश मात्रैको रूपमा लिन सकिन्छ ।

जे होस्, टिजर र ट्रेलर पनि सार्वजनिक नभएको ‘छक्का पन्जा ५’ गीतबाटै चर्चाको शिखरमा पुग्नु अर्को रोचक पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट