बालेनकाे पक्षमा हुटिङ गर्दा पक्राउ परेका व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त-Sutra News

बालेनकाे पक्षमा हुटिङ गर्दा पक्राउ परेका व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौं । बिहीबार दरबारमार्गमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै काठमाडाैंका मेयर बालेन साहकाे पक्षमा हुटिङ गर्दा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएअनुसार बिहीबार पक्राउ परेका चार जनामध्ये एक जना ज्यान मुद्दामा फरार अभियुक्त रहेको पाइएको हाे ।



अधिकारीले जानकारी दिएअनुसार पक्राउ परेका व्यक्ति बझाङ मष्ट गाउँपालिका–३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का हुन् । उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको उनले जनाए ।

जनाइएअनुसार तीन महिना अगाडि त्रिचन्द्र क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई ‘नक’ प्रहार गरी घाइते बनाएका थिए । उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको थियाे ।

खड्काविरूद्ध ज्यान मार्ने उद्योगकै अर्को घटना पनि रहेको खुलेको छ । यद्यपि, उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

बिहीबारकाे उक्त घटनामा पक्राउ परेकामध्ये तीन जनालाई शुक्रवार नै छाड्ने प्रहरीको तयारी छ। खड्कालाई भने पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट