‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक, छोरीको विवाह गर्न परिवारको दौड-Sutra News

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक, छोरीको विवाह गर्न परिवारको दौड

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिनेमाको कथा वस्तुबारेमा प्रकाश पारेको छ ।



छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ ।

यसले नेपाली समाजको विवाह पद्धति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ । भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नु पर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ ।

परिवारले खोजेका कुनै केटा मन नपरे पनि सिनेमाकी मुख्य पात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन् । तर, उसको अरुसँग प्रेम बसेको छ । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नु पर्छ ? भन्ने चित्रण गरिएको छ । ट्रेलरमा संवादले दर्शकको मन जित्ने देखिन्छ ।

सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेब्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट