एनपीएल खेल्न खेलाडीको दर्ता प्रक्रिया खुल्यो-Sutra News

एनपीएल खेल्न खेलाडीको दर्ता प्रक्रिया खुल्यो

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुलाएको छ ।



क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ताबारे जानकारी दिएको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत नाम दर्ता गर्नु पर्ने छ ।

अक्सनमा ए, बी र सी ग्रेडमा दर्ता गर्न सकिने छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म हुनेछ ।

एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एकभन्दा बढी टोलीको बोली लागेमा चिट्ठामार्फत निर्णय गर्ने क्यानले जनाएको छ ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउने छ ।

त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । यी दुवै ग्रेडका खेलाडीलाई एकभन्दा बढी टोलीले निर्धारित बोली लगाए चिट्ठामार्फत टुंगो लाग्ने छ ।

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम मिति असोज १२ सम्म राखिएको छ । नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौँमा हुने एनपीएलमा आठ टोली छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट