माओवादी घटकलाई एकबद्ध हुन प्रचण्डको आग्रह-Sutra News

माओवादी घटकलाई एकबद्ध हुन प्रचण्डको आग्रह

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन् ।



“सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन”, शहिद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “ढिलो नगरी हामी सबै एकताबद्ध होऔँ, हामीले सबै मोर्चा जित्न सक्छौ ।”

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत उहाँले स्मरण गरे । सरकारमा रहँदा जनयुद्धका शहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाब दिनु आजको आवश्यकता भएको बताए ।

“हाम्रा हजारौ शहिद नै हाम्रा शक्ति हुन्, उनीहरुको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबुत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाँउमा केन्द्रीतकृत होऔँ”, अध्यक्ष दाहालले भने ।

उनले ठूलो प्रयासपछि संक्रमण कालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसदमा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताए । आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाब दिनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उनको कथन छ । संघीय संसद्मा आफ्नो पार्टीको सिट संख्या कम भएको भनेर हिनाताबोध नगर्न र कमजोर महशुस नगर्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे ।

उनले प्रतिष्ठान मातहत हाल देशभर पाँच विद्यालय सञ्चालनमा रहेको र त्यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले प्रतिष्ठान मातहतमा रहेर कृषि, उद्योग तथा अन्य उत्पादनमूलक काम गर्नेतर्फ पनि आवश्यक पहल गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट