विवाह गर्न भनेपछि आमा र छोराको हत्या, अभियुक्त सार्वजनिक-Sutra News

विवाह गर्न भनेपछि आमा र छोराको हत्या, अभियुक्त सार्वजनिक

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले एक पक्राउ गरेको छ ।



वडा कार्यालय नजिकै किराना पसल चलाउँदै आएकी ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोही ठाउँका ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो । ‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरु फर्किएको हो,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने ।

उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । प्रहरीका अनुसार महिलाले मगरलाई विवाह गर्न दबाब दिँदै आएका थिइन् ।

अभियुक्तले घरबाट खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । विवाद भएपछि खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।

यस घटनामा प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको उपरीक्षक योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट