कार्बन उत्सर्जन गर्ने मुलुकसँग प्रधानमन्त्री अ‍ोलीले मागे क्षतिपूर्ति-Sutra News

कार्बन उत्सर्जन गर्ने मुलुकसँग प्रधानमन्त्री अ‍ोलीले मागे क्षतिपूर्ति

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनु पर्नेमा बताएका छन् ।



नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि)को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा आफ्नो देशको अडानबारे बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गरे । यस क्रममा विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समूदायलाई क्षतिपूर्ति दिइनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नु पर्नेमा जोड दिए । उनले भने, “हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दै छौँ ।”

यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आज राष्ट्रसंघ भवनमा स्थानीय समयानुसार अपराह्न ५ः१५ बजे भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट