फेरि सक्रिय बन्दै समाजवादी मोर्चा-Sutra News

फेरि सक्रिय बन्दै समाजवादी मोर्चा

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । सत्ताको खेलसँगै अर्थहिन बनेको समाजवादी मोर्चा पछिल्लो समय फेरि सक्रिय बन्न थालेको छ । मोर्चाको मुख्य घटक माओवादी केन्द्र सत्ता बाहिर आएसँगै मोर्चाले गति लिन थालेको हो ।



मोर्चालाई सक्रिय बनाउन सातै प्रदेशमा पुनः राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । मोर्चाका नेता प्रमेश हमालले जानकारी दिएअनुसार मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न थालिएको हो ।

विशेषगरी मोर्चाभित्रको राजनीतिक बुझाईमा एकरुपता ल्याउन यो अभियान चलाउन लागिएको नेताहरुले बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा चार दलकै शीर्ष नेताहरु सहभागि हुने हमालले जानकारी दिए । यसअघिजस्तै प्रत्येक कार्यक्रमको व्यवस्थापन फरक–फरक दलले गर्नेगरी खाका बनाइएको बताइएको छ ।

प्रशिक्षण कार्यक्रमसँगै मोर्चालाई थप व्यवस्थित बनाउन मोर्चाको विस्तार गर्ने तयारी पनि गरिएको छ । नेता हमालका अनुसार जसको लागि केही साना वामपन्थी दलहरुसँग छलफल अगाडि बढाइएको छ ।

तत्कालिनरुपमा सहकार्य र दीर्घकालिनरुपमा पार्टी एकताको मोडलअनुसार मोर्चालाई अगाडि बढाइएको उनले जनाए ।

२०८० असार ४ मा गठन भएको समाजवादी मोर्चाको सुरुवातीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आबद्ध थियो । यद्यपि, पार्टी विभाजनसँगै जसपा मोर्चाबाट अलग भएको छ । योबिचमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भने मोर्चामा आबद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट