ओली र मोदीबीच ‘साइडलाइन’ वार्ता हुने-Sutra News

ओली र मोदीबीच ‘साइडलाइन’ वार्ता हुने

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘साइडलाइन’ वार्ता हुने भएकाे छ । स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म भेटवार्ता तय भएकाे हाे ।



प्रधानमन्त्री ओलीको भारतसहित दक्षिण एसियाका बंगलादेश र पाकिस्तानका सरकार प्रमुखसँग समेत भेटवार्ता तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बस्ने होटेल लोटे न्युयोर्क प्यालेसमा दुई प्रधानमन्त्रीबिच भेटवार्ता हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएकाे छ ।

ओली प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो पटक भेट हुन लागेको हो । याे भेटमा दुई देशबिचका थुप्रै मुद्दामा छलफल हुने जनाइएकाे छ ।

प्रधानमन्त्री ओली यसअघि नै माेदीलाई नेपाल भ्रमणकाे निम्ताे दिएका थिए । त्यसमा भारतले कुनै जवाफ दिएको थिएन।

नेपालले निम्तो गरेको भएता पनि भारतले अहिलेसम्म औपचारिक निम्तो गरेकाे छैन । प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाका बिच भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग यसअघि नै भेटवार्ता गरिसकेका छन् । ग्रीन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्ने विषयमा दुईबीच समान धारणा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट