ठूला दल सत्ता खेलमा झुम्दा, साना आन्तरिक कलहकै चक्करमा-Sutra News

ठूला दल सत्ता खेलमा झुम्दा, साना आन्तरिक कलहकै चक्करमा

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । १९ महिनाजति समीकरण फेरहेरको चक्रपछि सत्ता राजनीति मुख्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को हातमा पुगेको छ । असार १७ को ७ बुँदे सहमतिका आधारमा मुख्य दुई दलले सत्ताको बागडोर हातमा लिएका हुन् ।



झण्डै दुई तिहाई हाराहारीमा मत पाएका दुई दलको सहकार्यसँगै संसदमा अन्य दलको महत्व र प्रभाव भने केही फिक्का भएको छ । सँगै साना दलहरु आफ्नै किचलोमा रुमलिँदा पनि उनीहरुले प्रभाव पार्ने गरी भूमिका खेल्न सकेका छैनन् । विशेषगरी साना दलहरु आन्तरिक किचलोमै रुमलिँदा बाह्य गतिविधि निकै कमजोर बनिरहेको छ ।

कांग्रेस र एमाले सत्ता सहकार्यमा जोडिँदै गर्दा अर्का दूई ठूला दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी अभियानमा देखिन्छन् । बाँकी झण्डै दर्जन हाराहारीका पार्टी प्रभावहिन देखिएका छन् ।

राप्रपाले चलाउन सकेन अभियान

संसदमा १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान व्यवस्थाको विरोधी पार्टी हो । उसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा आफूलाई उभ्याइरहेको छ ।

विगतमा भन्दा पछिल्लो समय शक्ति बढाएको भएपनि आन्तरिक विवादकै कारण राप्रपाले प्रभाव राख्नेगरी आफूलाई अगाडि सार्न सकेको छैन । राप्रपाभित्र व्यवस्थाविरोधी आन्दोलनलाई अगाडि बढाउने वा वर्तमान व्यवस्थाभित्रै लाभ लिने भन्ने सन्दर्भबाट विवाद देखिन्छ ।

विशेषगरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबिचमा ठूलो मतभिन्नता छ । जसको प्रतिफल पार्टी अभियानमा समेत परेको देखिन्छ ।

पछिल्लो समय राप्रपा संसद र सडकमा करिब प्रभावहिन छ । गएको आम निर्वाचनमा उत्साहजनक मत प्राप्त गरेपनि पछिल्लो राजनीतिक घटनाक्रमका बिच राप्रपाको पक्षमा जनमत थप खस्कँदो देखिन्छ । जसको उदाहरण पछिल्लो उपनिर्वाचनहरु हुन् । आन्दोलन घोषणा गर्ने र आन्दोलनलाई अगाडि बढाउन नसक्नुले राप्रपाको आत्मगत अवस्थालाई प्रष्ट पार्दछ ।

एसभित्र थामिएन विवाद

नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)भित्र पार्टी गठनदेखि नै विवाद छ । एकीकृत समाजवादीभित्र पार्टीलाई कसरी अगाडि भन्ने कोणबाट विवाद छ । एउटा समूह गठित पार्टीलाई नै बेग्लै पहिचानसहित अगाडि बढाउने पक्षमा देखिन्छ भने अर्को समूह अन्य दलसँग तत्कालै एकता गर्नुपर्ने पक्षमा देखिएको छ ।

पछिल्लो महाधिवेशनसँगै जिम्मेवारी बाँडफाँटले एकीकृत समाजवादीभित्र थप किचलो बढ्दो छ । बढ्दो किचलोका बिच केही शीर्ष तहकै नेताहरु एमालेमा फर्किएका छन् भने केही असन्तुष्ट नेताहरु समूह बाँधेर एमालेसँग छलफलमा जुटेका छन् ।

जसको प्रभाव एकीकृत समाजवादीभित्र पार्टी निर्माणभन्दा विभाजन र विघटनको चक्रले महत्व पाएको छ ।

फुटपछि पनि जसपा नेपालभित्र गुटैगुट

ठूला दल र सत्ताको दाउपेचको सिकार सधैँ साना दल हुने गरेका छन् । जसको उदाहरण उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि हो । पछिल्लो सत्ता खेलकै बिच जसपा नेपाल फुट्यो । कांग्रेससँग सहकार्य गर्ने कि एमाले–माओवादीसँग भन्ने विषयमा विवाद चल्दा अशोक राईले बहुमत सांसद लिएर पार्टी विभाजन गराएका थिए ।

यद्यपि, पार्टी विभाजनपछि पनि जसपा नेपाललाई विवादले छाडेको छैन । पछिल्लो महाधिवेशनसँगै पार्टीभित्रको जिम्मेवारी बाँडफाँटलाई लिएर जसपा नेपालभित्र रडाको मच्चिँदो छ । केही नेताहरुले समूह नै बाँधेर निर्वाचन आयोगसमक्ष निवेदन दिएका छन् ।

महाधिवेशनसँगै सग्लो भयो भनिएको जसपा थप विभाजन र विघटनको संघारमा पुगेको छ । जसमा आन्तरिकसँगसँगै बाह्य खेल पनि मिसिएको प्रष्टै देखिन्छ ।

जनमत सग्लो तर, नाउपा लोग्ने–स्वास्नीकै कारण सकसमा

साना दलहरुमध्ये खासै आन्तरिक विवाद नदेखिएको पार्टी जनमत पार्टी हो । सिके राउतको व्यक्तिगत प्रभावले निर्माण भएको जनमत अहिले सत्ता खेलमै छ । जसको प्रभाव पार्टीभित्र खास विवाद देखिन्न ।

यद्यपि, जनमतबाहेकका अन्य साना दलहरु विवादबाट अछुतो छैनन् । जसपा नेपालबाट विभाजन भएर बनेको लोसपा पटक–पटक विभाजनको चक्रमा फसिरह्यो । राजेन्द्र महतो समूह बाहिरिएपनि लोसपाभित्र विवादले छाडेको छैन । महतोले छाडेपनि लोसपाभित्र अर्को गुट जन्मिएको छ र महन्थ ठाकुरविरुद्ध उभिएको छ ।

लोसपा एकपछि अर्को विवादमा फसिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि विवादबाट अछुतो छैन । पछिल्लो आम निर्वाचनसँगै गठन भएको नाउपा लोग्ने–स्वास्नी विवादबाटै सकसमा छ ।

पार्टी संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टी सञ्चालनलाई लिएर चरम विवाद देखिन्छ । तत्कालिन एमाले–माओवादी गठबन्धनको पक्षमा उभिने वा कांग्रेस गठबन्धनको पक्षमा उभिने भन्नेमा विवाद मच्चिएको नाउपाभित्र जसको चिसो अहिलेसम्म पनि मरेको छैन ।

अहिले पनि चौधरी र श्रेष्ठ दुई कित्तामा छन् । सत्ता खेलको प्रभाव, जुनसुकै बेला नाउपा फुट्ने जोखिममा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट