क्यानडामा नेपालको लगातार तेस्रो हार, अर्धशतक बनाउन चुके सन्दीप-Sutra News

क्यानडामा नेपालको लगातार तेस्रो हार, अर्धशतक बनाउन चुके सन्दीप

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो ।



त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो ।

टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एक दिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे ।

यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मंगलबार ओमानसँग खेल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट