विवादलाई वेवास्ता गर्दै उपेन्द्रले चलाए सङ्गठन निर्माण अभियान-Sutra News

विवादलाई वेवास्ता गर्दै उपेन्द्रले चलाए सङ्गठन निर्माण अभियान

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीभित्र पद बाँडफाँटलाई लिएर विवाद बढेकाे बेला जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटाएकाे हाे ।



सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएअनुसार शीर्ष नेताहरुलाई भूगाेल छुट्याएर अभियानमा खटाइएकाे छ । उनका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियानका लागि नेताहरू ताेकेकाे थियाे ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ । यसैगरी, बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव तथा कोसी प्रदेशमा सचिव राजकुमार राई र जयराम यादवलाई तोकिएको छ ।

पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यका साथै प्रदेश समितिसँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको तथा तोकिएका अभियानकर्मीले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज पाँचथरमा अभियानकर्मी अभिमुखिकरणको आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि जसपा नेपालले काठमाडौँ, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा अभियानकर्मीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ ।

विशेषगरी महाधिवेशनपछि जिम्मेवारी बाँडफाँटलाई लिएर जसपाभित्र विवाद छ । असन्तुष्ट समूहले निर्वाचन आयोगमै निवेदन बुझाएका छन् । यद्यपि, अध्यक्ष यादव भने विवादलाई वेवास्था गर्दै अभियानमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट