सेयर बजारमा थामिएन पहिरो, अबको यात्रा कता ?-Sutra News

सेयर बजारमा थामिएन पहिरो, अबको यात्रा कता ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक नेप्सेमा पुनः उच्च अंकको पहिरो गएको छ । लगातार गिरावटका बिच आइतबार दोहोरो अंकले बढेको नेप्से सोमबार ५९.०२ अंकले घटेको हो । समग्रमा नेप्से २.२८ प्रतिशतले घटेको छ ।



सोमबारको कारोबारसँगै नेप्से २५२९.३३ को बिन्दुमा झरेको छ । प्रिसेसनमा १९.५० अंकले बढ्दै २६ सयको बिन्दुमाथि पुगेको नेप्से कारोबार सुरुवातदेखि नै ओरालोमा थियो ।

उच्च अंकको गिरावटका बिच सोमबार अधिकांश कम्पनीका मूल्य घटेको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये २२९ को मूल्य घट्यो भने १४ को मूल्य बढ्दा १ को स्थिर भयो ।

आज चार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । फाइनान्स समूहको सूचक ५.५६ प्रतिशतले घट्दा व्यापारको सूचक ३.९३ प्रतिशत र होटल तथा पर्यटनको सूचक ३.३४ प्रतिशतले घट्यो । विकास बैंक २.४६, जलविद्युत २.८९, लगानी २.७३, जीवन बिमा २.३५, लघुवित्त २.५६, निर्जिवन २.६९ र अन्य २.२२ प्रतिशतले घट्यो । यस्तै बैंक १.२७, उत्पादन तथा प्रशोधन १.८१ र लगानी ०.४८ प्रतिशतले घट्यो ।

उच्च गिरावटका बिच आज कारोबार रकम भने यसअघिका केही दिनको तुलनामा बढेको छ । बिक्रीकर्ता हाबी हुँदै गर्दा आज १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड रुपैयाँको भयो ।

आज सबैभन्दा बढी नेपाल फाइनान्स, सिइडिबी हाइड्रो, हिमालयन रि, अपि पावर र सानिमा मइ हाइड्राको कारोबार उच्च रह्यो ।

अर्थमन्त्रीको सक्रियतासँगै आइतबार उच्च उतारचढावका बिच नेप्सेले निरन्तरको ओरालो यात्रालाई ब्रेक गरेपनि सोमबार भने उच्च अंकले घट्दै मनोविज्ञान थप धमिल्याएको छ । यसले बजारले सहजै लय नसमात्ने संकेत गरेको छ ।

बजारका विषयमा जानकार चाडपर्वको प्रभाव बजारमा परेको बताउँछन् । जसको प्रभाव चाडपर्वसम्म नै कायमै रहेको बुझाई जानकारहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट