रविन्द्रले किन भेटे प्रचण्डलाई ?-Sutra News

रविन्द्रले किन भेटे प्रचण्डलाई ?

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौं । माओवादी आन्दोलनको विरुद्धमा आक्रामक अभिव्यक्ति दिइरहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । मंगलबार बिहान मिश्रले प्रचण्ड निवासमै पुगेर उनलाई भेटेका हुन् ।



प्रचण्डसँग समग्र राजनीतिको विषयमा अर्थपूर्ण छलफल भएको मिश्रले बताएका छन् । प्रचण्डसँगको भेटबारे सामाजिक सञ्जालमा लेख्दै मिश्रले ‘प्रचण्डसँग मनका कुरा’ भएको बताएका छन् ।

मिश्रका अनुसार प्रचण्ड राजसंस्थाको विरुद्धमा छैनन् । व्यवस्था यही ढंगबाट अगाडि बढ्न नसक्ने निष्कर्षमा रहेको कुरा प्रचण्डले सुनाएको मिश्रले बताएका छन् । उनका अनुसार प्रचण्ड ‘निरन्तरतामा क्रमभंगता’ खोजिरहेका छन् ।

“अहिले पो प्रधानमन्त्री भएँ, युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, भन्ने थाहा थिएन, देश बनाउनै भनेर सारा गरेको हो, अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो तर, अब यसरी चाहिँ हुँदैन”, आफूसँग प्रचण्डले भनेको कुरालाई उद्र्धत गर्दै मिश्रले लेखेका छन्, “म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन, तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था , ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।”

आफूसँगको छलफलमा प्रचण्डले राजा महेन्द्रको निकै प्रशंशा गरेको मिश्रले बताएका छन् । तत्कालिन समय तत्कालिन राजा ज्ञानेन्द्रले पनि नरमपन नदेखाउँदा राजसंस्था गएको निष्कर्ष प्रचण्डले सुनाएको मिश्रले बताएका छन् ।

“पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ, राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्”, आफूसँग प्रचण्डले भनेको भनाई उद्र्धत गर्दै मिश्रले लेखेका छन्, “द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।”

पूर्वगणतन्त्रवादी मिश्र पछिल्लो समय कट्टर राजसंस्थावादी बनिरहेका छन् । उनले राजसंस्थाको पुनर्स्थापना  बिना मुलुकले गति नलिने तर्क मिश्रको छ ।

विशेषगरी पछिल्लो व्यवस्था परिवर्तन, संविधानलगायतका कुरा माओवादी आन्दोलनको उपज भएको निष्कर्ष मिश्रले सुनाउने गरेका छन् । संविधान दिवसको दिन एक भिडियो सन्देश जारी गर्दै मिश्रले ‘प्रचण्ड संविधानलाई बहिस्कार गरौं’ भन्दै अपिल गरेका थिए ।

सोमबार संविधानसँग सम्बन्धित कार्यक्रममा मिश्र र प्रचण्डबिच घोचपेच चलेको थियो । यद्यपि, मंगलबार भने मिश्र आफैं प्रचण्ड निवास पुगे । मिश्रले सार्वजनिकरुपमा भनेका विषयको वास्तविकता के हो आफैंमा प्रश्न छ, यद्यपि यो भेटलाई भने निकै अर्थपूर्णरुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट