दसैँमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?-Sutra News

दसैँमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौं । प्रत्येक नेपालीका लागि दसैं–तिहार विशेष पर्व हो । अझ नेपाली फिल्मकर्मीका लागि त झन् दसैँ खास हुने गर्दछ । नेपाली फिल्मको व्यापारका लागि दसैँ–तिहार सबैभन्दा उत्तम समय हो । त्यसैले पनि नेपाली फिल्म निर्माताहरू जति सक्दो दसैँ–तिहारमा आफ्नो फिल्म ल्याउन खोज्छन् ।



यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ ।

सामाजिक सञ्जालमा तीन वटै फिल्मको चर्चा चुलिएको पाइन्छ । विशेषगरी युट्युबमा तीन वटै फिल्मका सामाग्री ट्रेडिङ्गमा छन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’ को दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक ‘बिहे भाको छैन’ बोलको गीतले झन्डै ६० लाख जति भिजिटर बटुलेको छ भने पाँच दिनअघि सार्वजनिक गीत ‘ब्रेकअप’ले ३५ लाखभन्दा बढी भिजिटर बटुलेको छ । ‘छक्कापन्जा ५’ को टिजर र ट्रेलर भने रिलिज भएको छैन ।

यता, बिराज भट्टको बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ’को टिजरसहित दुई वटा गीत सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक टिजरले १७ लाख बढी भिजिटर बटुलेको छ भने दुई साताअघि सार्वजनिक ‘सिनेमा हेर्न जाऊँ’ बोलको गीतले झन्डै १५ लाख र दुई दिनअघि सार्वजनिक ‘कसो कसो’ बोलको गीतले साढे दुई लाख भिजिटर बटुलेको छ ।

यता, ज्वाइँ साबको टिजर र एउटा गीत सार्वजनिक भएको छ । तीन साताअघि सार्वजनिक टिजरले करिब ६ लाख जति भिजिटर बटुलेको छ भने दुई साताअघि सार्वजनिक ‘कसम बत्तिको’ बोलको गीतले १४ लाख हाराहारीमा भिजिटर बटुलेको छ ।

यूट्युब र अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा देखिएको भिजिटरलाई हेर्दा ‘छक्का पन्जा ५’ प्रति धेरैको चासो बढेको देखिन्छ । यसअघिका सिरिजको उत्साहपूर्ण सफलतासँगै पछिल्लो सिरिजले पनि सफलता पाउन सक्ने अनुमान पछिल्लो चर्चाबाट गर्न सकिन्छ ।

यद्यपि, ‘छक्का पन्जा ५’मा धेरै चर्चित कलाकारको सहभागिता छ । उनीहरूको सहभागिताले पनि फिल्मलाई थप चर्चा बटुलेकोमा दुबिधा छैन ।

तर, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’भन्दा फिल्म ‘१२ गाउँ’ फरक जनरामा बनेको फिल्म हो । ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनरामा बनेका फिल्म हुन् भने ‘१२ गाउँ’ एक्सन जनरामा बनेको फिल्म हो ।

‘१२ गाउँ’मा मुख्य भूमिकामा देखिएका कलाकार नयाँ मात्रै छैनन्, केही चर्चित भारतीय कलाकार पनि छन् । भारतीय सिनेमाबाट लोभिनेको लागि यो निकै महत्वपूर्ण छ ।
यसआधारमा फरक–फरक रोजाइका दर्शकले कुनलाई कति महत्व दिन्छन् यकिनपूर्वक भन्न सकिन्न । यद्यपि, दसैँमा यी तीन फिल्मबिच बलियो प्रतिस्पर्धा हुनेमा दुबिधा छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट