दुई महिनापछि २४ सयको बिन्दुमा फर्कियो नेप्से, अबको यात्रा कता ?-Sutra News

दुई महिनापछि २४ सयको बिन्दुमा फर्कियो नेप्से, अबको यात्रा कता ?

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौं । लगातार उच्च गिरावटका बिच नेप्से २४ सयको बिन्दुमा फर्किएको छ । साताको तेस्रो कारोबार दिन (मंगलबार) ५८.९३ अंकले घट्दै नेप्से २४७०.३९ को बिन्दुमा झरेको हो । यसअघि साउन २२ मा नेप्से २४ सयको बिन्दुमा थियो ।



उच्च गिरावटका बिच मंगलबार नेप्सेमा सबैजसो कम्पनीका मूल्य घटेका छन् । मंगलबार कारोबारमा आएका २४४ कम्पनीमध्ये २३३ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य सामान्य अंकले बढ्याे ।

उच्च गिरावटका बिच किन्नेभन्दा बेच्ने हाबी हुँदा मंगलबार यसअघिका दिनको तुलनामा कारोबार रकम भने केही बढेको छ । १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको भयो ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स, सानिमा रिलाइन्स, हिमालयन रि, अपि पावरलगायतको कारोबार उच्च रह्यो ।

उच्च अंकले नेप्से घट्दै गर्दा मंगलबार सबैभन्दा बढी फाइनान्स समूहमा ४.६० प्रतिशत र सबैभन्दा कम सामूहिक लगानीमा ०.४४ प्रतिशतले गिरावट आयाे ।

पछिल्लो १५ कारोबार दिनलाई केलाउँदा नेप्सेमा ११ कारोबार दिन घटेकाे आएको छ । अधिकांश दिनमा उच्च अंकले नेप्से घटेको पाइन्छ ।

पछिल्लो तीन दिनमा मात्रै नेप्से १०६ अंकले घटेको छ । यो साताको पहिलो कारोबार दिन (आइतबार) ११.५८ प्रतिशतले बढेको नेप्से दोस्रो दिन (साेमबार) ५९.०२ अंकले घट्यो भने तेस्राे दिन (मंगलबार) पनि ५८.९३ अंकले नेप्से घट्यो । जसलाई हेर्दा, नेप्सेको गिरावट अस्वभाविक छ र निराशाजनक शैलीको छ ।

बजारका जानकार नेप्सेमा बियरिस ट्रेण्ड देखिएको बताउँछन् । करेक्सनको चरणलाई पनि पार गर्दै नेप्सेले पुरानै अवस्थामा आफूलाई फर्काउन खोजेको जानकारहरुको भनाई छ । सँगै चाडपर्वको प्रभाव पनि बजारमा देखिएको विश्लेषण गरिएकाे छ ।

यदि यही गतिमा नेप्सेमा गिरावट जारी रहेका दसैं अगाडि नै २ हजारकै आसपासमा नेप्से नफर्किएला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट