ओली सरकारले धरपकड थाल्दा विपक्षी एकजुट-Sutra News

ओली सरकारले धरपकड थाल्दा विपक्षी एकजुट

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अमेरिकामा छन् । राष्ट्रसंघको महासभामा भाग लिन उनी शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार ओली आगामी असोज १४ गते मात्रै स्वदेश फर्किनेछन् ।



ओली अमेरिकामा रहँदै गर्दा नेपालमा भने एकपछि अर्को गरी घटनाक्रम विकास भइरहेको छ । ओली अमेरिका पुगेसँगै सहकारी प्रकरणका आरोपितमाथि मात्रै होइन, व्यवस्था विरोधी पनि पक्राउ पर्न थालेका छन् ।

आइतबार विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई पक्राउ गरेको सरकारले सोही दिन नै सहकारी प्रकरणका आरोपित पूर्वडिआइजी छविलाल जोशीलाई पनि पक्राउ गरेको थियो । सँगै, आइतबार नै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारीमा सरकार देखिएको थियो ।

रास्वपा केन्द्रीय कार्यालयमा सादा पोशाकका प्रहरी प्रवेश गरेका थिए । यद्यपि, लामिछानेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

सहकारी प्रकरणमा लामिछानेसहित केहीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले विदेश भ्रमण गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट उक्त प्रकरणका आरोपितमाथि कारबाही थाल्न निर्देशन दिएका थिए । सोही निर्देशनपछि नै जोशी पक्राउ परेका हुन् ।

यद्यपि, जोशीपछि अन्य भने पक्राउ परेका छैनन् । जसलाई ‘परिस्थिति प्रतिकुल’ भएको रुपमा पनि विश्लेषण गरिएको छ ।

प्रसाइँ पक्राउसँगै राजसंस्थावादीहरु तरंगित बनेका छन् भने जोशी पक्राउसँगै रास्वपाभित्र हलचली मच्चिएको छ । जोशी पक्राउलगत्तै आइतबार रास्वपा केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता भेला भएका थिए । पक्राउको चर्चापछि लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै ‘प्रतिरोधमा उत्रिन’ निर्देशन गरेका थिए ।

“यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ, जुन हामी हुनै दिँदैनौं, कुनै हालतमा हुन दिंदैनौं, मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ, तयार भएर रहनु होला, अलर्टमा रहनुहोला”, आइतबार रात नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भनेका थिए ।

जोशी पक्राउपछि रास्वपा यति धेरै तरंगित बनेको थियो कि चीन भ्रमणमा गएको रास्वपा उपसभापति स्वर्णीम वाग्लेसहितको समूह आकस्मिक नेपाल फर्किने तयारीमा पुग्यो । यद्यपि, टिकट नपाउँदा वाग्ले समूह यतिबेलासम्म चीनमै अड्किएको छ ।

तर, योबिचमा समग्र राजनीति तरंगित छ । शीर्ष तहमा एकपछि अर्कोगरी भेटवार्ता बाक्लिएका छन् । नयाँ परिस्थिति विकास हुने सम्भावनाहरु बढेका छन् ।

सरकारले विरोधी केन्द्रीत धरपडक सुरु गर्दै गर्दा विपक्षी शक्ति एकजुट हुन थालेका छन् । सरकारको एकपछि अर्को गरी ‘टार्गेट’मा पर्न सक्ने सम्भावनाका बिच विपक्षीबिच मोर्चाबन्दी सुरु हुन थालेको हो । जसमा व्यवस्था विरोधी शक्तिको रुपमा देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागि देखिएको छ ।

पछिल्ला घटनाक्रमका बिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेताहरुलाई एकपछि अर्को गरी भेटिरहेका छन् । सोमबार रास्वपा सभापति लामिछानेलाई भेटेका प्रचण्डले मंगलबार राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई बोलाएर भेटेका छन् । योबीचमा प्रचण्डले अन्य दलका नेतालाई पनि भेटिरहेका छन् ।

प्रचण्डले सत्ताबाट पाखा परेसँगै विपक्षी मोर्चा बनाउने प्रयास थालेका थिए । जुन प्रयास असफल भएपछि समाजवादी मोर्चालाई अगाडि बढाउने निर्णयमा उनी पुगेका थिए । यद्यपि, पछिल्लो धरपकड उनको योजनाअनुकुल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट