रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति : मिश्रले (अ)राजनैतिक शैली देखाए-Sutra News

रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति : मिश्रले (अ)राजनैतिक शैली देखाए

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरेको प्रचार ‘आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रस्तुत गरेको’ भनी उनको सचिवालयले खण्डन गरेको छ।



मंगलबार बिहान प्रचण्डकै निवास खुमलटार पुगेर उनीसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मिश्रले प्रचण्डको भनाइ भनी ७ बुँदामा प्रस्तुत गरेका छन्। जसमा मिश्रले प्रचण्डले पञ्चायत व्यवस्था र राजतन्त्रप्रति सकारात्मक कुरा गरेको दाबी गरेका छन्।

अध्यक्ष प्रचण्डकाे स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताएका छन् । ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट