पूर्वसभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दामा फैसला सुनाउने तयारी-Sutra News

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दामा फैसला सुनाउने तयारी

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेसीमा चढेको हो ।



सो मुद्दाको निर्णय सुनाउनका लागि पेसी तोकिएको हो । यद्यपि यसअघि पटक–पटक निर्णय सुनाउने भनिए पनि पेसी सर्दै आएको छ ।

तर, प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ। यदि आज फैसला नभएमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट दायर गरेकी थिइन् । सोही मुद्दामा कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट