सेयर बजारको गिरावटमा मिलेमतोको आशंका, लगानीकर्ताहरुले गरे छानबिनको माग-Sutra News

सेयर बजारको गिरावटमा मिलेमतोको आशंका, लगानीकर्ताहरुले गरे छानबिनको माग

लगानीकर्ताहरु भन्छन्– अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु छैनन्

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौं । सेयर बजारमा भइरहेको निरन्तरको गिरावटलाई लिएर लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् । निरन्तरको गिरावटलाई ‘अप्राकृतिक’ भएको निष्कर्ष निकाल्दै लगानीकर्ताहरु विरोधमा उत्रिका हुन् । बुधबार संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लगानीकताहरुले छानबिन गर्न माग गरेका छन् ।



“विगत केही दिनदेखि नेपालको पुँजीबजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा हामी आम लगानीकर्ताहरुको गम्भीर ध्यानाकर्षण भएको छ, पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु छैनन्”, लगानीकर्ताहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, “अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासाहरु राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।”

लगानीकर्ताले बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्ने वातावरण बनाइदिन पनि माग गरेका छन् । “पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्नको लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गर्दछौं”, विज्ञप्तिमा भनिएको छ, “आम लगानीकर्ताहरु कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारको लागि एकजुट भएर अगाडि बढ्नको लागि समेत अनुरोध गर्दछौं ।”

एक महिना बढीदेखि नै सेयर बजार निरन्तर ओरालो यात्रामा छ । योबिचमा ५ सयभन्दा बढी अंकले बजार घटेको छ । साउन ३१ मा ३ हजारको बिन्दुमाथि पुगेको नेप्से मंगलबारसम्म आउँदा २४ सयको बिन्दुमा झरेको छ । सँगै, कारोबार रकम पनि निकै नै सुस्ताएको छ । दैनिक ३० अर्ब नजिक पुगेको कारोबार ५ अर्ब हाराहारीमा खुम्चिएको छ ।

बढ्दो बजारमा ‘करेक्सन’को नियम लागु हुने भएपनि पछिल्लो गिरावटलाई करेक्सन भन्न सकिने अवस्था छैन । लगानीकर्ताहरुले यो घटाइ नियोजित भएको आरोप लगाइरहेका छन् । विशेषगरी नेप्सेको सिस्टममा देखिएको समस्या र ब्रोकरहरुबाट लगानीकर्ताहरुलाई लगाइएको लिमिटमाथि उनीहरुको प्रश्न छ ।

पछिल्लो गिरावटलाई लिएर स्वयम् अर्थमन्त्री विष्णु पौडेल पनि प्रश्नमा देखिन्छन् । उनी स्वयम् पनि घटाईलाई अस्वभाविक र अप्राकृतिक भनिरहेका छन् । गत बुधबार नेप्सेको कार्यालयमा छड्के अनुगमन गरेका पौडेलले तत्काल गिरावटको कारणबारे जानकारी दिन माग गरेका थिए ।

परिस्थिति फेरबदल नभएको र नीति नियम थप अनुकुलित भइरहँदा नेप्से कि घट्यो भन्ने प्रश्न पौडेलको छ । यद्यपि, नियमनकारी निकाय धितोपत्र र बजार सञ्चालन नेप्सेले भने यसबारे कुनै ठोस जवाफ दिएको छैन । नेप्सेले बेला–बखत देखिएको समस्या सामान्य प्राविधिक समस्या भएको बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट