भरतपुर महानगरमा खोला किनाराका भवन भत्काउन सुरु-Sutra News

भरतपुर महानगरमा खोला किनाराका भवन भत्काउन सुरु

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । चितवनको भरतपुर महानगरले खोलाको सिमानामा बनेका घर तथा भवन भत्काउन सुरु गरेको छ ।



भरतपुर महानगरले खोलाको सिमानाभित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सुचना निकालेको थियो । तर, बेवास्ता गरेकाले डोजर लगाएर भत्काउन सुरु गरेको महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको दाबी गरेकी थिइन् । जसमा पुङ्गी खोलाको सिमाङ्कन महानगरको ११ नम्बर वडाको गणेश थानदेखि रामघाटसम्म करिब साढे ५ किलोमिटर क्षेत्रको खोला किनारको भवन भत्काउन लागिएको हो ।

महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको क्षेत्रमा निर्माण भएकाले भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भबन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको महानगरका नापी अधिकृत विकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोकबाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व मेटिने चिन्ता व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट