फेरि २५ सयको बिन्दुमा फर्कियो नेप्से, सकिएको हो त करेक्सन ?-Sutra News

फेरि २५ सयको बिन्दुमा फर्कियो नेप्से, सकिएको हो त करेक्सन ?

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । बुधबार ४९.१८ अंकले बढ्दै नेप्से पुनः २५१९.५७ को बिन्दुमा उक्लिएको छ । बुधबार समग्रमा नेप्से १.९९ प्रतिशतले बढ्यो ।



उच्च अंकले नेप्से बढ्दै गर्दा कारोबार रकममा भने केही गिरावट आएको छ । बुधबार झण्डै तीन महिनायताकै कम कारोबार भएको छ । १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको भयो ।

आज सामूहिक लगानी बाहेकका सबै समूहका इन्डेक्स बढे । सबैभन्दा बढी फाइनान्स र होटल तथा पर्यटन समूहको इन्डेक्स (३ प्रतिशतभन्दा बढी) बृद्धि भयो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २२३ को मूल्य बढ्यो भने १८को मूल्यमा सामान्य करेक्सन आयो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल, सगरमाथा जलविद्युत र थ्रि स्टार हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कारोबार रकमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड, अरुण भ्याली, सिइडिबी हाइड्रो, हिमालयन रि र अपि शीर्ष स्थानमा रहे ।

लगातार गिरावटका बिच नेप्सेमा उच्च अंकको बृद्धिले केही सकारात्मक संकेत गरेको छ । बुधबार सुरुवातदेखि नै नेप्सेले उकालो यात्रा समाएको थियो । कारोबार रकम घटेपनि नेप्सेमा देखिएको उकालो यात्राले करेक्सनको तह सकिएको जस्तो पनि संकेत गरेको छ ।

निरन्तर गिरावट चलिरहँदा लगानीकर्ता निकै निराश भएका थिए । जसको प्रभाव होल्ड गर्ने बढ्दा कारोबार रकमका निकै गिरावट आएको थियो । जुन बुधबारको कारोबारमा पनि देखिएको छ ।

बुधबारको कारोबारसँगै नेप्सेले सुखद यात्रा लिन खोजेको संकेत गरेको बजारका जानकार जगतजंग जिसी बताउँछन् । उनका अनुसार आजको ट्रेण्ड बिहीबार कायमै रहेमा बजारले पुनः उकालो यात्रा लिन सक्छ ।

“नेप्सेले ठूलो करेक्सनको तह पार गरेको छ, आजको बृद्धिले करेक्सन सकिएको संकेत गर्छ”, उनले भनेका छन्, “जसरी ग्राफमा निरन्तर बृद्धि भएको देखियो, यसले आगामी दिन सुखद हुन सक्ने संकेत गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट