‘हिंसा’ले एमालेभित्र ‘उकुसमुकुस’मा पूर्व माओवादी समूह-Sutra News

‘हिंसा’ले एमालेभित्र ‘उकुसमुकुस’मा पूर्व माओवादी समूह

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौं । सत्ता सहकार्य टुटेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिचको दुरी निकै बढेको छ । सत्ता सहकार्य तोडेसँगै एमाले–माओवादी परस्पर विरोधी शक्तिको रूपमा देखिन थालेका छन् ।



अहिले माओवादीलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने ध्याउन्नमा सत्ता नेतृत्वकर्ता एमाले देखिन्छ । माओवादी आन्दोलनलाई ‘हिंसा’ भन्दै विद्रुपीकरण गर्ने एमालेको घोषित अभियान यसैको एउटा कडीको रूपमा मान्न सकिन्छ ।

एमालेले प्रत्येक सार्वजनिक फोरममा माओवादीलाई नैतिकरुपमा अप्ठ्यारो पार्ने गरी आफूलाई प्रस्तुत गरिरहेको छ । चाहे संसद होस् वा सार्वजनिक अन्य मञ्च जहाँ एमाले नेतृत्वबाट व्यक्त अभिव्यक्तिबाट माओवादीहरु अप्ठ्यारोमा छन्।

त्योभन्दा रोचक विषय, माओवादी आन्दोलन विरोधी अभियान चल्दै गर्दा एमालेभित्रैका पूर्वमाओवादी समूह निकै अप्ठ्यारोमा परेका छन् । माओवादी आन्दोलनलाई लिएर नेतृत्वबाटै व्यक्त अभिव्यक्तिले उनीहरू नैतिकरुपमा असहज अवस्थामा देखिन्छन् ।

जसको एउटा उदाहरणको रूपमा बुधवार धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनलाई लिन सकिन्छ । जहाँ एमाले महासचिव शंखर पोखरेलले माओवादी आन्दोलनलाई ‘आतंकवादी गतिविधि’ भनिरहँदा सँगै छेउमा रहेका पूर्वमाओवादी नेता तथा एमाले सचिव लेखराज भट्ट पानी–पानी देखिएका थिए । उनी पोखरेलको माओवादी विरोधी भाषण मौनरुपमा सुनेर बाहिर निस्किए ।

“माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन यथार्थ रूपमा भन्नुहुन्छ भने त्यो समयमा आतंक सिर्जना गर्ने काम पनि भयो”, पूर्वमाओवादी तथा एमाले सचिव लेखराज भट्टलाई छेउमै राखेर पोखरेलले भनेका थिए, “त्यो समयमा दिनदहाडै बसमाथि आगजनी गर्ने काम भएको थियो । राति सुतेकाहरूलाई आगो लगाएर हत्या गर्ने घटना भएका थिए । त्यो हिंसा मात्रै होइन, आतंक पनि हो ।”

एक केन्द्रीय नेता भन्छन्– नैतिकरुपमा अप्ठ्यारो पारियो

‘लिगेसी र स्कुलिङ मिलेन’ भन्दै एमालेबाट बाहिरिएका पूर्वमाओवादी नेता मणि थापा एमालेभित्र पूर्वमाओवादी समूह निकै ‘उकुसमुकुस’को अवस्था रहेको हुनसक्ने बताउँछन् । उनका अनुसार राजनीतिमा स्कुलिङ निकै महत्वपूर्ण हुन्छ ।

“राजनीतिमा लिगेसी र स्कुलिङ मिल्नुपर्छ भन्ने ठान्छु, म त्यही नमिलेर बाहिरिएको मान्छे, त्यहाँभित्रको अवस्थाबारे कसरी बोलूँ”, उनले भनेका छन्, “साथीहरू हुनुहुन्छ, उहाँहरूको मौनता नै जवाफ होला ।”

तत्कालीन नेकपाको विभाजनसँगै केही नेताहरू समूहबद्ध हिसाबले नै एमाले प्रवेश गरेका थिए । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशङ्कर चौधरीलगायत नेताहरू नेकपा ब्युँताउने भन्दै एमाले छिरेका थिए । यद्यपि, छोटो समयमै प्रभु शाह, मणि थापालगायतहरु बाहिरिए भने टोपबहादुर रायमाझी अहिले जेलमा छन् भने बादल निष्क्रिय प्रायः छन् ।

एमालेभित्रका एक पूर्वमाओवादी नेता पछिल्लो माओवादी आन्दोलन विरोधी अभियानसँगै थप अप्ठ्यारोमा परेको बताउँछन् । सिलसिला कायमै रहे धेरै नेताहरू न्युट्रल रहने वा पार्टी छाड्ने अवस्थामा पुगेको उनको भनाई छ ।

“केही बाहिरिए, केही न्युट्रल छन्, यस्तै शैली कायमै रहे, बस्ने अवस्था धेरैलाई हुन्न”, उनले भनेका छन्, “नयाँ कोर्समा समस्या नहोला भन्ने थियो, तर पछिल्लो समय आन्दोलनलाई बिद्रुपीकरण गर्ने गरी प्रहार हुनु दुःखद भएको छ, यसले समग्र वामपन्थी आन्दोलनलाई अप्ठ्यारो पार्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट