काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका ७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु.प्र.०१-००१ प.६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडक खण्डको बर्दिबास नगरपालिका ८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको थियो । घटनामा वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।
घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए । जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।
घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरुले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाएर राखेका थिए । रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शंकास्पद रहेको माओवादी केन्द्रले जनाउँदै आएको थियो ।