फिल्म जुधाएका फिल्मकर्मीबिच चलेको ‘तितो जुहारी’-Sutra News

फिल्म जुधाएका फिल्मकर्मीबिच चलेको ‘तितो जुहारी’

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौं । यसपटकको दसैँमा केही बहुप्रतिक्षित मानिएका नेपाली फिल्म सँगै लाग्दैछन् । दसैँको मेसो पारेर फूलपातीको दिन असोज २४ गते तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’को रिलिज हुँदैछ ।



‘छक्का पञ्जा ५’ दिपकराज गिरीको फिल्म हो भने ‘ज्वाइँ साप’ जितु अभिनीत फिल्म हो । यसैगरी, ‘१२ गाउँ’ एक्सन अभिनेता विराज भट्टको फिल्म हो ।

यी तीन फिल्मको रिलिज डेट जुध्दै गर्दा, दसैंलाई नै मेसो पारेर निश्चल बस्नेतको फिल्म ‘बेहुली मेघौली’ पनि घटस्थापनाको दिन असोज १७ मा रिलिज हुँदैछ । स्वयम् निश्चतसमेत अभिनीत फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि यति बेला निकै चर्चामा छ ।

आफ्नै सुरमा प्रचार–प्रसार गरिरहेका निश्चलको फिल्म ‘बेहुली फ्रम मेघौली’ले बजारमा राम्रो प्रभाव पार्ने सम्भावना छ । किनकि यसअघिका उनका फिल्म खासै असफल भएका उदाहरण छैनन् ।

यसरी बहुप्रतिक्षित मानिएका फिल्महरू एकै समयमा लाग्दै गर्दा उनीहरूको व्यापारमा कस्तो प्रभाव पार्ला, आमरुपमा प्रश्न उठेको छ । यद्यपि, फिल्मकर्मीहरूको ध्यान यतातिर देखिन्न । उनीहरू एक–अर्कोलाई कमजोर बनाउने र उछितो काढ्ने शैलीमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

विशेषगरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनीहरूको प्रस्तुति हेर्दा अवस्था छर्लङ्ग हुन्छ ।

अहिले विशेषगरी ‘छक्का पञ्जा ५’को फिल्म टिम र ‘ज्वाइँ साप’को फिल्म टिमबिच जुहारी चलिरहेको छ । दुवैका फिल्म टिमले एकले अर्कोको उछितो काढ्ने गरी सञ्चार माध्यम र सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन् ।

जसमा विगतका सहकर्मीसमेत रहेका दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे जोडिएका छन् । यति बेला उनीहरू निकै तल ओर्लिएर एक÷अर्को विरुद्ध उछितो काढ्न अभ्यस्त देखिन्छन् ।

दिपकराजले आफ्नै सामाजिक सञ्जालमार्फत जितुलाई होच्याउने गरी अभिव्यक्तिहरू दिइरहेका छन् भने जितु नेपालले सामाजिक सञ्जालसँगै मिडियाबाट समेत खुलस्त प्रहार गरिरहेका छन् ।

जितुले कता–कता टिमबाट निकालिएको तुष्टि दिपकराज गिरीमाथि पोखिरहेका देखिन्छ भने दिपकराजले प्रतिस्पर्धी बन्न खोजेकोमा असन्तुष्टि पोखेका छन् । यद्यपि, उनीहरूको विगतदेखिको विवाद पनि यति बेला पोखिएको छ ।

‘छक्का पञ्जा ५’को फिल्म टिम र ‘ज्वाइँ साप’को टिम बिच जुहारी चल्दै गर्दा ‘१२ गाउँ’ भने कुनै फिल्मसँग जुहारीमा देखिएको छैन । यद्यपि, ‘१२ गाउँ’को विरुद्धमा यति बेला फिल्मी उद्योगबाटै असहयोगपूर्ण अभिव्यक्तिहरू बाहिर आएका छन् । विशेषगरी फिल्म निर्माता तथा अभिनेताहरू सोभित बस्नेत, जयकिशन बस्नेत ‘१२ गाउँ’विरुद्ध हात धोएर आलोचनामा उत्रिएका छन् ।

यसरी सानो उद्योगभित्रको प्रतिस्पर्धा र जुहारीले आम दर्शकलाई भने नमिठो पारेको छ ।

सम्बन्धित समाचार

दसैँमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट