वैकल्पिक राजनीतिको अलाप तर, ‘ट्रेन्ड’ पुरानै-Sutra News

वैकल्पिक राजनीतिको अलाप तर, ‘ट्रेन्ड’ पुरानै

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौं । रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा हुँदै गर्दा मूलधारको राजनीतिले खास ध्यान दिएको थिएन । उनको पार्टी घोषणालाई ‘सस्तो शैली’को रूपमा समीक्षकहरूबाट पनि टिप्पणी भएको थियो । विशेषगरी सेलिब्रेटीहरूले गर्ने खेलको रूपमा उनको पार्टी घोषणालाई अर्थ्याइएको थियो ।



“अलिअलि नाम चलेका सेलिब्रेटीहरुले हल्लीखल्ली गर्दैमा राष्ट्र निर्माण र युग परिवर्तन हुने भए न मण्डेला ३२ वर्ष जेल बस्न पर्थ्यो, न गान्धी आजीवन धोतीमा हिँड्न पर्थ्यो, न लिंकन मारिनु पर्थ्यो, न रुजबेल्टले न्युडिल ल्याउन पर्दथ्यो, न माओले लङ मार्च गर्न पर्दथ्यो’, राजनीतिक विश्लेषक डम्बर खतिवडाले रास्वपा घोषणामाथि टिप्पणी गरेका थिए ।

विश्लेषक खतिवडाको बुझाइमा रास्वपा घोषणा अर्थहीन थियो । यसले राजनीतिमा ‘स्पेस’ पाउने अवस्था थिएन ।

हुन पनि न विचार, न एजेन्डा, न आधार लामिछानेले अनौठो शैलीमा राजनीतिमा ‘इन्ट्री’ मारेका थिए । यद्यपि, उनको इन्ट्रीले छोटै समयमा हलचली मच्चायो ।

२०७९ असार ७ मा यूट्युबरबाट महत्व पाएको उनको पार्टी घोषणा, आम निर्वाचन मंसिर ४ सम्म आइपुग्दा निकै बेग्लै बन्यो । आम निर्वाचनको परिणामबाट रास्वपा चौथो ठुलो शक्ति मात्रै बनेन, ‘वैकल्पिक शक्ति’को उपमा पाउने अवस्थामा पुग्यो ।

आम निर्वाचनपछि रास्वपाप्रति पुराना र मूलधारका शक्तिभित्रबाट पनि निकै लालायित हुने अवस्था देखियो । स्वर्णिम वाग्लेलगायतहरुको प्रवेशलाई पनि यही सिलसिलाको रूपमा लिन सकिन्छ । जसले वास्तविक अर्थमै रास्वपामाथि सबैको ध्यान केन्द्रीत बनाएको थियो ।

यद्यपि, उभार जगाउँदै उदाएको रास्वपा दुई वर्षको बिचमै प्रश्नको घेरामा उभिएको छ । रास्वपाको भविष्य कहाँसम्म, भन्ने कोणबाट प्रश्न थालेको छ । कतिपयले ‘बर्खे भेल’को रूपमा पनि रास्वपालाई टिप्पणी गर्न थालेका छन् ।

हुन पनि सत्ताप्रति लालायित देखिएको रास्वपाको शैलीले एकातिर पुरानैको ट्रेण्डलाई दोहोर्‍याएको छ भने अर्कोतिर सत्तामा पुगेपछि भएको बदनामीले थप प्रश्न जगाएको छ । सँगै आन्तरिक हिसाबले रास्वपाभित्र चलेको हुण्डरी असामान्य तहको छ ।

जसले रास्वपा बनायो, उ नै आज राजनीतिमा रहन्छ वा रहँदैन भन्ने कोणबाट पनि प्रश्न उठिरहेको छ । सिधा अर्थमा पार्टी सभापतिको जिम्मेवारीमा रहेका रवि लामिछानेकै राजनीतिक भविष्य खतरामा देखिन्छ । सहकारी काण्डबाट उनी यति धेरै किचिएका छन् कि उनको राजनीतिक भविष्य नै के होला, सहजै भन्न सकिन्न ।

सहकारी अपचलन घटनामा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर गरेको छ । उनलाई कानुनी दायरामा ल्याउँदै कारबाही गर्न सिफारिस गरेको छ । लामिछानेमाथि विभिन्न सहकारीको करोडौँ रकम अपचलन गरेको ठहर समितिको छ ।

समितिको सिफारिसअनुसार सरकार कारबाहीमा उत्रिएमा लामिछाने छिट्टै कानुनी कारबाहीको दायरामा आउने निश्चित छ । यद्यपि, यो राजनीतिक लेनादेनामा नटुङ्गिएला भन्न सकिन्न ।

यद्यपि, यसले लामिछाने र रास्वपामाथि ठुलो प्रश्न उठाएको छ ।

लामिछानेले काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दललाई ‘पुराना’को संज्ञा दिँदै रास्वपाको उदय गराएका थिए । तर, स्थापनाको २८ महिनाको बिचमै उनी आफैँ पुरानाको लिस्टमा गनिने अवस्थामा पुगेका छन् ।

सांसद तथा मन्त्री खरिद–बिक्री काण्डदेखि सहकारी काण्डसम्म आउँदा रास्वपा कत्ति नयाँ देखिएन । पछिल्लो सामाजिक सञ्जालमा भाइरल लामिछानेको ‘भिडियो लाइभ’सम्म आउँदा भिजिटर बढ्ने तर, लोकप्रियता खस्कने अवस्था देखियो ।

आफू बदनामित बनेको सहकारी काण्डलाई लामिछानेले राजनीतिक षडयन्त्रसँग मात्रै जोडेर अर्थ्याएका छैनन्, प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशित गरेका छन् । थुप्रै प्रमाण सतहमा आउँदा पनि लामिछानेले नैतिकता होइन, ‘क्लिन चिट’ खोजिरहेका छन् ।

वैकल्पिक राजनीतिको अलाप गर्दै उदाएको रास्वपा सहकारी काण्डले किचिँदा समग्रतामा कुरूप राजनीतिको विकासमा टेवा पुर्‍याइरहेका ठुला राजनीतिक शक्तिभन्दा नरहेको भन्नलाई हिचकिचाउन पर्दैन । अन्यमा जस्तै रास्वपामा पनि नैतिकताको खाडल सामान्य देखिन्न । यसले वैकल्पिक राजनीतिमाथिको आशालाई धूलिसाथ पारिरहेको आभाष आमरुपमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट