काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौँ भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा-नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली-तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारी साधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्