नारायणगढदेखि नागढुंगासम्म सवारी साधन सञ्चालनमा रोक-Sutra News

नारायणगढदेखि नागढुंगासम्म सवारी साधन सञ्चालनमा रोक

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । स्थानीय प्रशासनले वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ-मुग्लिन-नागढुंगा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।



जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।

सूचनामा भनिएको छ, “सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडक खण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनु हुन अनुरोध छ ।”

शुक्रबार काठमाडौँतर्फ जान हिँडेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा रोकिनु पर्ने अवस्था भएको भन्दै सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्य धारण गरी बस्न अनुरोध गरिएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो । विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट