महासंघ अध्यक्ष ढकाल भन्छन्– पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा साबित हुनेछ-Sutra News

महासंघ अध्यक्ष ढकाल भन्छन्– पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा साबित हुनेछ

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुङ्गा साबित हुने बताएका छन् ।



ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे ।

उनले पाथीभरा केबलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए ।

संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए ।

सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने उनको भनाइ छ ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे । साथै, उनले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए ।

स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको उनको भनाइ छ । उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।

उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताए । केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट