मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि नै गराएको सचेत तर, सरकारले चेतेन-Sutra News

मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि नै गराएको सचेत तर, सरकारले चेतेन

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षासँगै आएको बाढी पहिरोले देशभर ठुलो स्तरमा जनधनको क्षति बनायो । सयौँ सर्वसाधारणले ज्यान गुमाए । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा सुरु हुनु दुई दिनअघि नै ५६ जिल्लामा वर्षाको उच्च जोखिम रहेको जानकारी दिँदै सचेत हुन आग्रह गरेको थियो ।



मौसम पूर्वानुमान महाशाखाले असोज ११ गते शुक्रवारदेखि आइतबारसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको थियो । साथै, तराईका भूभागमा डुबान हुने जानकारी दिएको थियो ।

वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने भन्दै सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम हुने महाशाखाको दाबी थियो । मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघिदेखि सचेत हुन आग्रह गर्दै सरकारलाई पूर्व तयारी गर्न संकेत गरेको थियो । तर, मौसम विभागले गराएको सचेत सबै वर्षासँगै आएको बाढीमा विलीन भए ।

शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण अहिलेसम्म ११० जनाको शव फेला परेको छ । सयौँ घाइतेको उद्धार गरिएको छ भने पाँच दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।

बाढीबाट सबैभन्दा बढी संघीय राजधानी काठमाडौँसहित उपत्यकाका तीन जिल्ला प्रभावित भए । जसमा ललितपुरमा २०, काठमाडौँमा १२ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाए । यी जिल्लामा मात्रै दर्जनौँ सर्वसाधारण बेपत्ता छन् । यसबाहेक अरू जिल्लामा बाढी पहिरोमा परी सयौँले ज्यान गुमाएका छन् ।

जिम्मेवारीमा चुके काम चलाऊ प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत ४ गते शुक्रवार बिहान अमेरिका प्रस्थान गरे । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह कार्यकारी प्रधानमन्त्री जिम्मेवारी दिए ।

देशमा बाढी पहिरोले ठुलो जनधनको क्षति भइरहँदा सरकारको नेतृत्व गरेका कार्यकारी प्रधानमन्त्री सिंह बेखबर बने । उनले सरकारले गर्नु पर्ने कामको बोध गरेनन् ।
उता प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई अपिल गरे । उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न आह्वान गरेका थिए ।

“बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन्, आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका थिए ।

यता, गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा परेकाहरूको उद्धार गर्न नसकेको स्वीकारेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्व जानकारी हुँदा पनि किन यति धेरैले ज्यान गुमाए ? भन्दै पार्टीका नेताहरूले कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेका थिए ।

पार्टीबाट आफूहरूमाथि प्रश्न उठेपछि कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको भन्दै आफ्नो कमजोरी ढाक्ने प्रयास गरेका थिए ।

आफ्नै दलका नेताहरू सरकारको नेतृत्वमा हुँदा ठुलो जनधनको क्षति भएपछि कांग्रेसले बाढी पहिरोमा पीडितका लागि राहत कोषमा ५० लाख दिने घोषणा गरेको पार्टी प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीबाट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ, पार्टीको संसदीय दलले पनि १५ दिनको सांसदहरूको तलब दिने निर्णय गरेको छ ।’

यद्यपि, यति ठुलो क्षतिपछि राहतका नाममा गरिने यस्ता घोषणा अर्थहीन देखिन्छन् । पूर्ववत् जानकारी हुँदाहुँदै गैर जिम्मेवार बन्नु र क्षतिपछि राहतको घोषणा गर्नुमा कुनियतमात्रै झल्किन्छ ।

अझै पनि खोला सीमा बस्तीलाई व्यवस्थित गराउने सन्दर्भमा उचित निर्णय आवश्यक छ । मुख्य राजमार्गहरूलाई सुधार्न मात्रै आवश्यक छैन, त्यहाँ बिपतमा तत्कालै नतिजा दिने गरी काम गर्न आवश्यक छ । तर, नेतृत्वमा रहेकाहरू केही घोषणा गरेर लोकरिझाँइ खोज्ने परम्पराबाट ग्रसित छन् । जसको निरन्तरता अहिलेको विपत्मा देखियो । जुन निकै दुःखद छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट