नेपाल इभी ‘डम्पिङ साइट’ बन्ने जोखिम छ, ‘एक्सपायर’ मोडल मात्रै हाबी भए [संवाद]-Sutra News

नेपाल इभी ‘डम्पिङ साइट’ बन्ने जोखिम छ, ‘एक्सपायर’ मोडल मात्रै हाबी भए [संवाद]

‘खोज्ने हो भने राजस्व छली प्रष्टै भेटिन्छ’

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

नेपालमा विद्युतीय सवारी साधन (इभी)को व्यापार ह्वात्तै बढेको छ । हालै सम्पन्न ‘नाडा अटा शो २०२४’ ले पनि त्यसको अवस्थालाई उजागर गर्दछ ।



यद्यपि, मुलुक इभीमय भइरहँदा, आयात हुने र बिक्री हुने इभी कस्ता हुन्, तिनको गुणस्तर कस्तो छ, तिनको भविष्य के–कस्तो छ भन्नेतर्फ ध्यान गएको छैन । साथै, यसको आयात र व्यापारमा चरम बेथिति भएको विषयहरू बाहिरिएका छन् । आयात गर्दा गाडीको वास्तविकता नै लुकाएर अर्बौँ राजस्व छली गरेको विषय पनि बाहिर आइरहेको छ ।

यिनै तमाम विषयमा केन्द्रित रही सूत्र न्यूजका सन्देश अर्यालले जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालसँग कुराकानी गरेका छन् । इभी गाडीबारे गेलालसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

भर्खरै नाडा अटो सो सकिएको छ । इभमय देखिएको नाडा अटो शोको अनुभव कस्तो रह्यो ?

‘नाडा अटो शो २०२४’ ले नेपाली अटो क्षेत्रको दिशा के हो भन्ने स्पष्ट पारेको छ । प्रदर्शनमा झन्डै ९० प्रतिशत विद्युतीय सवारी साधनहरूको स्टल रहेको थियो भने बाँकीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको स्टल थियो । यो सिनारियो विगतको वर्षभन्दा निकै भिन्न हो । आम सर्वसाधारणले पेट्रोलियम पदार्थको विकल्प खोजिरहेका छन् भन्ने कुरा यो शोले स्पष्ट पारेको छ । अटो शो, इभी शो नै बन्यो भन्दा हुन्छ । कतिपयले ‘इभी शो’ भनेर टिप्पणी गरेको पनि पाइयो । खासमा यो ‘इभी शो’ नै जस्तो बन्यो ।

शो उत्साहपूर्ण भयो भनिरहँदा व्यापार कस्तो रह्यो ?

बुकिङको हिसाबले शो असाध्यै उत्साहपूर्ण रह्यो । यद्यपि, बुकिङ र व्यापार फरक कुरा हुन् । व्यापार यही भयो भनेर भन्ने अवस्था भइसकेको छैन । यति भन्न सकिन्छ, शोले उत्साह ल्यायो । व्यापारलाई एउटा अनुपातमा बढायो । त्यसको नतिजा आगामी दिनमा देखिएला ।

अटो शोमा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले जे–जसरी स्किम दिए, त्यसको प्रभाव पनि राम्रो देखिएको छ । बैंकहरुले पेट्रोलियम पदार्थको विकल्पमा इभी लिन खोज्नेलाई सहज कर्जा प्रवाह गरेको अवस्था छ । जसको प्रभाव स्वाभाविक बजारमा देखिएको हो ।

बाहिर चर्चा, बुकिङ उत्साहपूर्ण हुने तर, बुकिङ क्यान्सिल पनि उस्तै रह्यो भन्ने पनि आयो । खास के हो ?  

यो सत्य हो । म विगत सन् २००९ देखि यो क्षेत्रमा आबद्ध छु । जागिरे जीवनदेखि आफैँ वितरक हुँदासम्मको अनुभव मसँग छ । वास्तविकता के हो भने पाँच सयदेखि हजार रुपैयाँ लिएर आउनेलाई पनि गाडीको बुकिङ गरिएको हुन्छ । करोड पर्ने गाडी पनि पाँच सय/हजारमा बुकिङ गर्न पाइन्छ ।

तर, त्यो बुकिङलाई भ्यालिड मान्ने वा नमान्ने भन्ने विषय अर्को हो । कम्पनीहरूले ती बुकिङलाई पनि काउन्ट गरेका हुन्छन् । खल्तीमा मोबाइल छ, मोबाइलबाट पाँच सय/हजार तिर्नलाई समस्या भएन । विगतमा पाँच सय/हजारको महत्व थियो, अहिले छैन । यस्तो अवस्थामा ‘बिरालो बाँधेर श्रद्धा गर्ने’ भनेजस्तै चलिरहेको छ ।

भनेपछि बाहिर एउटा, भित्र अर्को रह्यो ? 

मैंले पनि मिडियामा हेरेँ, एउटै ग्राहकले पाँच ठाउँमा बुकिङ गरे भन्ने समाचार आयो । हुन पनि कम्पनीहरूको बुकिङ रिफण्डेबल छ । रिफण्डेबल भएपछि स्कीमअनुसार बुक गर्न समस्या भएन । त्यसले गर्दा बुकिङ धेरै भएकै हो तर, यसको रियालिटी फरक हो ।

फेरि व्यापारमा कहिलेकाहीँ यस्ता टुक्का लगाउनै पर्छ । सबै कुरा, वास्तविकताका आधारमा हुँदैनन् ।

समग्रमा कम्पनीहरूको कुरालाई केलाउँदै गर्दा, जी मोटर्सको कस्तो रह्यो ?

हामीले बुकिङको थोरै मापदण्ड व्यवस्थित बनाएका थियौँ । गाडीको मोडलअनुसार २५ हजार, ५० हजार र एक लाखको बुकिङ मूल्य तय गरेका थियौँ । त्यसकारण हाम्रोमा बुकिङ, व्यापारमा धेरै हदसम्म कन्भर्ट भइरहेको छ । यद्यपि, कतिपय ग्राहकका समस्या, जस्तो घरको गेट, पार्किङ ठाउँलगायतले गर्दा केही फिर्ता हुने अवस्था पनि रह्यो । यो बाहेक बुकिङ गर्ने धेरैले लिने अवस्था छ ।

बजार इभीमय भयो भनिरहँदा यसका समस्याहरूलाई छोड्न मिल्दैन । मर्मत केन्द्र मात्रै होइन, चाजिङ्ग स्टेसनहरू आवश्यक ठाउँमा छैनन् । कता–कता सिटी एरिया मात्रै केन्द्रित भएको पाइन्छ । यसलाई कसरी बुझ्ने ?

यो विषय एक हदसम्म सही हो । सबैको ध्यान बिक्रीतर्फ छ तर, उल्लेखित समस्यातर्फ अलि बढी केन्द्रित छैन । विद्युत् प्राधिकरणले पनि त्यसतर्फ ध्यान दिएको छैन । उसका चार्जिङ्ग स्टेसनहरू व्यवस्थित छैनन् । सँगै केही कम्पनीहरूले सिन्डिकेट शैलीमा आफ्नो ब्रान्डको लागि मात्रै चार्जिङ्ग स्टेसनहरू बनाएको अवस्था छ । सहकार्य छैन । जसका कारण ग्राहकहरू समस्यामा छन् । चार्जिङ्ग स्टेसनहरू फ्यूल स्टेशन जस्तै हो । यसलाई त्यसैगरी व्यवस्थित बनाइनु पर्छ । त्यसतर्फ हामी सबैको ध्यान जानुपर्छ ।

नेपालमा आएका इभी गाडीका मोडलहरु धेरै ‘एक्स्पाएर’ छन् भन्ने पनि आएको छ । वास्तविकता के हो ?

यो विषयमा ग्राहक स्वयम् सचेत हुनुपर्छ । बजारमा अनेकन खालका वस्तु आउँछन् । मुख्यतः ग्राहकले आफूले किन्दै गरेको गाडी अन्तर्राष्ट्रिय बजारमा कसरी बिक्री भइरहेको छ भन्ने हेर्नुपर्छ । मैंले मेरा प्रत्येक ग्राहकलाई भनेको छु, यसको पूर्ण जानकारी लिनुहोस् । सेल्स हिस्टी अध्ययन गर्नुस् ।

कुनै पनि ब्रान्ड विश्वका २०/३० देशमा बिक्री भएको छैन भने त्यसमा सोंच्नुपर्छ । ल्याउनेले पनि, अनि किन्नेले पनि सोंच्नुपर्छ । कतै एक्स्पायर मोडल त होइन, हेर्नुपर्छ । व्यवसायीले आफ्नो धर्म पालना गर्ने अनि सरकारले स्पष्ट नीति बनाउने विषय आवश्यक छ ।

नेपाली बजारमा जे–जस्ता इभी गाडीहरू बिक्री भइरहेका छन्, यसलाई हेर्दा तपाईँलाई कस्तो लाग्छ ?

म प्रस्ट छु, नेपालमा बिक्री भइरहेका ६० प्रतिशतभन्दा बढी गाडीहरू डम्पिङ हुने खालका छन् । ४० प्रतिशत गाडीहरू जेन्यून खालका छन् । उनीहरू मापदण्ड पु¥याएर ल्याइएका छन् । दीर्घकालीन मोडलमा उत्पादन भएका गाडीहरू छन् । बाँकी ६० प्रतिशत अलपत्र नपर्लान् भन्न सकिन्न ।

यो विषय निकै गम्भीर छ । यसमा सरकारले ध्यान दिएको छैन । व्यापार हो भन्दैमा जे पनि व्यापार गर्न दिनु हुँदैन । इभी गाडीको व्यापार र गमलाको व्यापार फरक हो । सरकार सचेत हुनुपर्छ । मूल्य, त्यसको प्रयोग अवधिलगायतलाई ध्यान दिइनुपर्छ ।

आठ वर्ष वारेन्टी भनेर बिक्री गर्ने तर, आठ वर्षमै त्यो उत्पादक हरायो भने कसले जिम्मा लिन्छ ? उसको उत्पादन इतिहास के छ ? त्यसलाई कसले हेर्ने ? स्याउ किनेजस्तो गाडी किन्ने शैली बन्द गर्नुपर्छ ।

पूरा संवाद हेर्न भिडियो लिङ्क क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट