हवाई टिकटको मूल्य कम बनाउन सरकारले छुट दिनु पर्ने हवाई संघको निर्णय-Sutra News

हवाई टिकटको मूल्य कम बनाउन सरकारले छुट दिनु पर्ने हवाई संघको निर्णय

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।



यसका लागि सरकारले इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्क घटाउनु पर्ने वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बताए । यसो भएमा हवाई भाडादर घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

विपत्तिको समयमा दुई गुणा बढी शुल्कमा हवाई टिकट बिक्री गरेको हवाई कम्पनीविरुद्ध चर्को आलोचना भएपछि संघको बैठक बसेर यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष कार्कीले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय बताए ।

हवाई भाडा महंगो भएको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ ।

“कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ,” प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोले अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई बनेको छ । यस्तो अवस्थमा हवाई कम्पनीले अस्वभाविक भाडा बनाएर लुट धन्दा चलाएको भन्दै नागरिक स्तरबाट आलोचना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट