नख्खुमा बगेका दुई जनाको उद्धार गर्ने चणिकलाललाई प्रचण्डले गरे सम्मान-Sutra News

नख्खुमा बगेका दुई जनाको उद्धार गर्ने चणिकलाललाई प्रचण्डले गरे सम्मान

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।



पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आइतबार आफ्नै निवास खुमलटार बोलाएर चणिकलाललाई सम्मान गरेका हुन् । चणिकलालले शनिबार ललितपुर महानगर २५ सुगमटोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै तीन सय मिटर तल पुगेपछि उर्लंदो भेलमा हामफालेर चणिकलालले दुई जनाको उद्धार गरेका थिए ।

राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किएका थिए भने उनकी चार वर्षीया छोरी सेर्तु बेपत्ता छिन् । ‘संकटको बेला बहादुरहरूको जन्म हुन्छ,’ उनले भने, ‘तपाईंले आफू बहादुर भएको प्रमाणित गर्नु भएको छ ।’

चणिकलालको चर्चा अहिले देश–विदेशमा भइरहेको भन्दै प्रचण्डले उनी माओवादी पार्टीको युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट