काठमाडौँ । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्राप्त जानकारीअनुसार अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको हो । बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको छ ।
बाढी पहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अवरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए ।
अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।