न ओली चिन्तित बने, न सिंहले जिम्मेवारी सम्हाले !-Sutra News

न ओली चिन्तित बने, न सिंहले जिम्मेवारी सम्हाले !

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको लामो अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता हुँदै छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते (शुक्रवार) अमेरिका पुगेका थिए ।



प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा हुँदै गर्दा देशले भने ठुलो विपद्को सामना गर्नुपर्‍यो । शुक्रवार र शनिवार परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोले देशभर ठुलो क्षति बनायो । बाढी तथा पहिरोमा परी झन्डै दुई सय जनाले ज्यान गुमाए । झन्डै १ सय जनाभन्दा बढी घाइते भए । दर्जनौँको संख्यामा नागरिक बेपत्ता हुँदा हजारौँ घरबार विहीन भए ।

जल तथा मौसम विज्ञान विभागले असोज ७ गते नै विशेष सूचना जारी गर्दै असोज ८ देखि १२ गतेसम्म सातै प्रदेशमा अति भारीसम्म वर्षा हुने भन्दै सचेत गराएको थियो । यद्यपि, विभागको उक्त चेतावनीलाई सरकार नेतृत्वकर्ताले भने वास्ता गरेन ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिए । तर, कार्यबहाक प्रधानमन्त्रीको कुर्चीमा बसेका सिंह विपद्प्रति खास जानकार नै देखिएनन् । उनी नेतृत्वको मन्त्रीमण्डल विपत्को बेला पूर्ण अलमल पर्‍यो ।

विपत् तत्काल ‘एक्सन’मा उत्रिनुपर्नेमा सरकारले कुनै निर्णय नै लिन सकेन । प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाएपछि, घटना भएको २४ घण्टापछि लज्जा बोध नगरी बैठक बोलाएर औपचारिकता पूरा गर्न खोज्यो ।

यहीबिच प्रधानमन्त्री ओली भने अमेरिकामा बसेर गैर जिम्मेवार शैलीमा विपत्माथि कमेन्ट गर्नमै व्यस्त देखिए । देश र जनता ठुलो आहतमा पर्दै गर्दा ‘रंगीला’ शैलीमा फेसबुके ‘रिक्याक्ट’ जुटाउन उद्धत बने ।

भ्रमणमा ओलीको मूल कार्यक्रम असोज १० गते नै सकिएको थियो । संयुक्त राष्ट्रसंघको सभामा सम्बोधनसँगै मूल कार्यक्रम सकिए पनि उनी अनावश्यक कार्यक्रममा रमाइरहे । स्थानीय मिडियाका फ्रन्ट पेज र ब्यानर मृत्यु र बेपत्ताका समाचारले भरिँदा प्रधानमन्त्री ओली भने हार्वर्ड विश्वविद्यालयमा शिक्षा दिन पुगे ।

‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु,’ हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा जाँदै गर्दा ओलीले भनेका थिए, ‘यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरू सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको, हेरिरहेको छु, नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ, जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला ।’

प्रधानमन्त्री ओलीको यी अभिव्यक्तिले स्पष्ट हुन्छ, ओलीका निम्ति देशभित्रको पीडा महत्वमा रहेन ।

ओली देशभित्रको पीडाबाट किञ्चित प्रभावित देखिएनन्, अमेरिका भ्रमणको तालिकाहरू प्रभावित भएनन् । प्रवासी नेपालीले बहिस्कार गरेको कार्यक्रम बाहेक नियमित भ्रमण तालिका परिमार्जन भएनन् । सोही तालिकाअनुसार नै ओली सोमबार स्वदेश फर्किँदै छन् ।

विपदमा हल्ला बढी

हुन त नेपालको राजनीतिक नेतृत्व जनताका पीडाबाट खास प्रभावित हुने गरेको पाइँदैन । असार मध्यतिर देश सुरुवाती बाढी, पहिरो र डुबानबाट प्रभावित हुँदै गर्दा मुख्य राजनीतिक नेतृत्व सत्ता हेरफेरमा जुटेका थिए ।

असार २८ मा सीमलताल पहिरोमा पाँच दर्जन बढीले ज्यान गुमाउँदै गर्दा सत्ता हेरफेरमा नेतृत्वकर्ता मस्त थिए । कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार विपत्तिकै पीडाका बिच बनेको थियो । पीडालाई बेवास्ता गर्दै बनेको सरकारले पछिल्लो विपत्तिमा देखाएको शैलीले पनि सरकारको प्राथमिकता झल्काउँछ ।

यहाँ यसरी टिप्पणी गरिरहँदा एकोहोरो सरकारविरुद्ध प्रस्तुत भयो भन्ने पनि लाग्न सक्छ । यद्यपि, उल्लेखित सन्दर्भमा स्वयम् सत्तारुढ कांग्रेसभित्र समीक्षा भएको छ । जहाँ अहिलेको विपतमा सरकार पूर्ण असफल भयो भन्ने निष्कर्ष निकालिएको छ ।

तर, विडम्बना विपत्मा लाचार सरकार आफ्ना कमजोरी ढाक्न कर्मचारीहरूको सरुवामा केन्द्रित बनेको छ । काभ्रेपलान्चोक र धादिङ जिल्लाका सिडिओको सरुवा आफ्ना नाकाम छोप्ने शैलीमा मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट