वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना-Sutra News

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । आफूहरूमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का एयरहोस्टेस (विमान परिचारिका)ले प्रदर्शन गरेका छन् ।



निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा एयरहोस्टेसले आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् । झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुखसहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेको थिए ।

आफ्ना मागको सुनुवाइ नभएसम्म संघर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताइन् । निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।

“एयरहोस्टेसको पाँच वर्षको सम्झौताअनुसार काममा लगाइएको हो, उनीहरुको करार अवधि सकिएको छ, पुनः सेवा निरन्तरता दिन सकिन अवस्था छैन”, निगमका एक उच्च अधिकारीले भने ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेद्भाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो ।

निगमभित्रका १७२ जना क्याविन क्रु (एयरहोस्टेस) केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट