बाढी पहिरोबाट काठमाडौँ उपत्यका बढी प्रभावित, ८२ जनाले गुमाए ज्यान-Sutra News

बाढी पहिरोबाट काठमाडौँ उपत्यका बढी प्रभावित, ८२ जनाले गुमाए ज्यान

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढी पहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ ।



विपदबाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्यांकअनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।

बाढी पहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेशका काभ्रेमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात–सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक–एक जनाको मृत्यु भएको छ । काभ्रेमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

काभ्रेमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट