अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, दसैँमा घर जान खोज्नेलाई सकस-Sutra News

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, दसैँमा घर जान खोज्नेलाई सकस

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । असोज १२ (शनिबार)देखि सुरु गरिएको अग्रिम टिकट बुकिङ बन्द गर्न लागेका हुन् ।



यातायात व्यवसायीहरुले बाढीपहिरोले सडक बिग्रिएका कारण गाडी चलाउन सहज नभएको भन्दै बन्द गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए ।

“सबैतिर बाटोको समस्या छ, यातायात सहज सञ्चालन गर्ने अवस्था छैन”, उनले भनेका छन्, “बुकिङ्ग गरेर के गर्ने ? त्यसकारण हाम्रो कुरा बन्द गर्ने छ ।”

उनका अनुसार आज नै बुकिङ्गको विषयमा निर्णय लिने तयारी गरिएको छ । “१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्, यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । त्यसपछि निर्णय आउँछ”, उनले भने ।

यसैबिच यातायात व्यवस्था विभागले दिउँसो ३ बजेका लागि बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको जनाइएको छ ।

शुक्रबारदेखि परेको वर्षाले बाढीपहिरो आउँदा मुख्य सडकहरु बिग्रिएका छन् । अधिकांश सडकहरुमा यातायात आवागमन अझै सहज देखिएको छैन ।

यहीबिच थप वर्षा हुने मौसम विभागको चेतावनीका बिच के हुने अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट