पूर्वबाट फेरि मौसम बदली सुरु, यी स्थानमा वर्षा हुने-Sutra News

पूर्वबाट फेरि मौसम बदली सुरु, यी स्थानमा वर्षा हुने

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । अविरल वर्षाले ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ ।



जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको छ । त्यसको असर कोशीसहित मधेस, बागमती र गण्डकी प्रदेशसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ, विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुनेछ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम छ ।”

यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा नहुने उनको भनाइ थियो । यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको जनाइएको छ ।

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् । आज राति कोशीलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ र हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

असोज १६ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ । असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट