सरकार नेतृत्वकर्तामा नझल्किएको संवेदनशीलता-Sutra News

सरकार नेतृत्वकर्तामा नझल्किएको संवेदनशीलता

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । झन्डै १० दिन लामो अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ स्वदेश फर्किए । उनी संयुक्त राष्ट्रसघंको महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।



प्रधानमन्त्री ओली अमेरिकामा रहँदै गर्दा देशमा भने भीषण बाढी–पहिरोसँगै ठुलो जनधनको क्षति भइरहेको थियो । यद्यपि, प्रधानमन्त्रीको भ्रमण तालिकामा फेरबदल भएन । उनी निर्धारित तालिकाअनुसार नै सोमबार स्वदेश फर्किए ।

विडम्बनाको विषय भन्नुपर्छ, विपतको चरम अवस्थामा पनि प्रधानमन्त्रीको स्वदेश फिर्ती निकै असामान्य रह्यो । खराब मौसम र सडक अवरुद्ध हुँदा विमानस्थलमा बढेको यात्रुहरूको भीडलाई बेवास्ता गर्दै आधा घण्टा बढी विमानस्थल बन्द गरेर उनलाई स्वागत गरियो । उनको आगमनलाई भव्य बनाउन ‘नोटाम’ जारी गरेर विमानस्थल बन्द गरिएको थियो ।

नोटाम भिभिआइपीहरूको उडान हुँदा विमानस्थलमा अन्य आगमन रोक्न गरिने व्यवस्था हो । सोही परिपाटीअनुसार नै उनको आगमनमा विमानस्थल बन्द गराइएको थियो ।

सँगै उनको स्वागत निकै असामान्य देखियो । देश शोकमय भएको बेला शीर्ष पदाधिकारी फुल गुच्छा लिएर उनको स्वागतमा लामबद्ध थिए । जहाँ उनी हँसिलो मुहारसहित हात हल्लाउँदै उत्साहपूर्ण रूपमा फर्किएका देखिन्थे ।

सँगै विमानस्थलको पत्रकार सम्मेलन पनि हाँसी मजाकपूर्ण नै रह्यो । प्रधानमन्त्री ओलीले संवेदनहीन शैलीमा प्रश्नको जवाफ मात्रै दिएनन्, आलोचक विरुद्ध आफूलाई दरिलो रूपमा प्रस्तुत गरे ।

“विपत्मा भ्रमण छोट्याएर तपाईँ किन स्वदेश फर्कनु भएन ?” भन्ने पत्रकारको गम्भीर प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, “प्रश्न पुग्यो, म फर्किएर आएँ, ठिक छ ।”
विपत्को बेला तपाईंको राष्ट्र संघको सम्बोधनलाई कुन अर्थमा लिने भन्ने प्रश्नमा प्रधानमन्त्रीको चरम व्यङ्ग्यात्मक जवाफ थियो, “म कुनै भैँसी दुहुन गएर, दूध लिएर आएँ भनेजस्तो होइन ।”

समग्रमा विमानस्थलको पत्रकार सम्मेलन विरोधीलाई जवाफ दिने विषयमा मात्रै केन्द्रित थियो ।

प्रधानमन्त्री ओलीको आगमनपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहत तथा उद्धारको काममा सरकारले अपेक्षाकृतरुपमा काम गरेको निष्कर्ष निकाल्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गर्नेसहित विपत् कोषमा रकम निकासा गर्नेदेखि केही निर्णय गरियो । विपत्लाई गम्भीर शैलीमा लिएर, कुनै खास योजना बनाउनतर्फ बैठक केन्द्रित बनेन ।

बेप्रवाह कार्यवाहक र गृहमन्त्री

भारी वर्षा हुनु पूर्व नै सरकारकै मौसम विभागले अलर्ट जारी गरेको थियो । विभागले केही दिनअघिदेखि नै सावधानी अपनाउन भनेको थियो । यद्यपि, त्यसतर्फ खास कसैको ध्यान गएन ।

प्रधानमन्त्री ओली भ्रमणमा जाँदै गर्दा कार्यबहाकको जिम्मेवारीमा रहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक जिम्मेवार शैलीमा प्रस्तुत भएनन् । विडम्बनाको विषय नै भन्नुपर्छ, सरकारले काठमाडौँबाट दुई किमी दुरीको झ्याप्ले खोलाको पहिरोको घटना पनि ४८ घण्टापछि मात्रै थाहा पायो ।

मौसम विभागले अलर्ट जारी गर्दागर्दै उपत्यकाभित्रै सावधानी अपनाउने काम भएन । बाढी, पहिरो र डुबानमा जनता फस्दै गर्दा सरकारको भूमिका निकै नै कमजोर देखियो । पूर्व तयारीमा चुकेको सरकार फिल्डमा उत्रिने बेला थप कमजोर रूपमा प्रस्तुत भयो । झ्याप्ले खोलाको पहिरोमा गरिएको उद्धारको घटनालाई पनि सोही शृङ्खलाको रूपमा लिन सकिन्छ ।

यद्यपि, आफ्ना कमजोरी लुकाउन र चौतर्फी आलोचनाबाट बच्न प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र प्रहरी प्रमुखहरूको सरुवा गर्ने काम सरकारबाट भयो ।

आइतबार गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्र पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा सुमन घिमिरेलाई पठाउने निर्णय गरेको थियो भने, सोमबार जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तान्दै उनको सट्टा एसपी दीपेन्द्र शाहीलाई जिम्मेवारीमा खटाइएको थियो ।

यसैगरी काभ्रेका सिडिओ सूर्यप्रसाद सेढाईंलाई पनि फिर्ता गरेर सट्टामा रमेश ढकाललाई पठाइएको थियो । विपदमा सन्तोषजनक काम गर्न नसकेको भन्दै मातहतका अधिकारीलाई कारबाही गरिँदा नेतृत्वको हिसाबले कुनै पछुतो मानेको देखिएन ।

यी घटनाले पुष्टि गर्छ, सरकारमा संवेदनशीलता देखिन्न । जनताप्रति जबाफदेहिता झल्किन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट