नेप्सेमा उत्साह : ११४ अंकको बृद्धि, साढे ७ अर्बमाथिको कारोबार-Sutra News

नेप्सेमा उत्साह : ११४ अंकको बृद्धि, साढे ७ अर्बमाथिको कारोबार

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा भारी अंकको बृद्धि भएको छ । मंगलबार ११४.७० अंकले बढ्दै नेप्से २६२३.५६ को बिन्दुमा उक्लिएको छ । समग्रमा यसदिन नेप्से ४.५७ प्रतिशतले बढ्यो ।



यसअघि सोमबार पनि ४४.४५ अंकले नेप्से बढेको थियो ।

उच्च अंकले सूचक बढ्दै गर्दा मंगलबार सबैजसो समूहका परिसूचक बढे । सबैभन्दा बढी फाइनान्स समूह ९.७४ प्रतिशतले बृद्धि हुँदा सबैभन्दा कम सामूहिक लगानी १.६६ प्रतिशतले बढ्यो ।

आज वाणिज्य बैंक ३.८२, विकास बैंक ५.४८, वित्त ९.७४, होटल तथा पर्यटन ५.९७, जलविद्युत ५.९८, लगानी ६.१०, जीवन बिमा ४.१२, उत्पादन तथा प्रशोधन २.१९, लघुवित्त ३.९८, निर्जिवन बिमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशतले बढ्यो ।

उत्साहपूर्ण बृद्धिका बिच मंगलबार कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढ्यो । कारोबारमा आएका २४५ कम्पनीमध्ये २४३ को मूल्य बढ्दा १ को मूल्य घट्यो भने १ को स्थिर रह्यो ।

आज झण्डै दुई दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका अधिकांश कम्पनी फाइनान्स समूहका छन् ।

मंगलबार सूचकसँगै कारोबार रकममा पनि उत्साहपूर्ण बृद्धि भएको छ । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बराबरको भयो । जुन ९ कारोबार दिनयताकै उच्च हो ।

आज कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, हिमालयन रि, नेपाल फाइनान्स, सिइडिबी हाइड्रो, अपि पावर कम्पनीलगायत शीर्ष स्थानमा रहे । एनएलजी इन्स्योरेन्सको मात्रै कारोबार रकम २८ करोड ८२ लाख बराबरको रह्यो ।

लगातार बृद्धिका बिच डेढ महिना अगाडि साउन ३२ मा नेप्से ३ हजारको बिन्दुमाथि उक्लिएको थियो । त्यसयता निरन्तर घट्दै नेप्से २४६४ को बिन्दुसम्म झरेको थियो ।

तर, पछिल्लो दुई कारोबार दिनले नै नेप्सेमा पुनः उत्साह सिर्जना गराएको छ । नेप्सेले पुरानै लय समात्न खोजेको पनि आभास गराएको छ । विशेषगरी कारोबार रकम बढ्नुले ठूला लगानीकर्ताको प्रवेश भएको संकेत गराउँछ ।

यद्यपि, चाडपर्वका मुख र विपद्को अवस्थाका बिच बढेको नेप्से आगामी दिनमा कसरी अगाडि बढ्ला यत्तिकै भन्न सकिने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट