तटबन्धले जोगाएको नारायणी किनारका बस्ती-Sutra News

तटबन्धले जोगाएको नारायणी किनारका बस्ती

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो ।



तर, भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यसअघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगर १ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्यांक सबैभन्दा धेरै हो ।

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु पर्यो । नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको केही वडामा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नु परेको उनको भनाइ थियो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउँछन् । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उनले बताउ ।

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ ।

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरका प्रमुख रेणु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताइन् ।

डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उनको भनाइ छ । उनले भने, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झण्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ, ती ठाउँका लागि पहल भइरहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट